काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मिटरब्याजपीडितलाई फेरि एकपटक धोका दिएको आरोप लगाएका छन्। आइतबार पार्टी कार्यालय च्यासलमा सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारसँग भएको सहमतिले पीडितको समस्या समाधान नगर्ने दाबी गरे।
ओलीले सरकारले वास्तविक समस्या समाधान गर्नुको सट्टा देखावटी सहमति गरेर पीडितलाई भ्रममा पारेको बताए। उनले केही समयपछि यो सहमति धोका भएको कुरा आफैं स्पष्ट हुने दाबी गरे।
अर्थतन्त्रबारे टिप्पणी गर्दै ओलीले सरकार आर्थिक अवस्था सुधारिएको देखाउने प्रयासमा झन् संकट गहिरो बनाइरहेको आरोप लगाए। मूल्यवृद्धि र कर वृद्धिले सर्वसाधारण, विशेषगरी गरिब नागरिकलाई थप मारमा पारेको उनको भनाइ थियो।
विदेश पलायनको विषय उठाउँदै उनले गत वर्षभन्दा धेरै नेपाली रोजगारीका लागि विदेशिएको उल्लेख गर्दै सरकारले त्यसतर्फ बेवास्ता गरेको आरोप लगाए।
एमाले अहिले संसदीय र सडक दुवै मोर्चाबाट संघर्ष गरिरहेको उल्लेख गर्दै ओलीले सडक आन्दोलनको मनोबल केही कमजोर भए पनि त्यसलाई पुनः सशक्त बनाइने बताए।
राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै उनले देशमा थितिविहीन राजनीति चलिरहेको दाबी गरे। परिवर्तनको सुरुआत नै हिंसा, हत्या र षड्यन्त्रबाट भएको आरोप लगाउँदै उनले वर्तमान राजनीतिक अभ्यासप्रति असन्तुष्टि व्यक्त गरे।

