काठमाडौं । नेपाल सरकारले सार्वजनिक बिदाको संख्या पुनरावलोकन गर्न अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ।
मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा लागू भइसकेको अवस्थालाई ध्यानमा राख्दै अन्य बिदा घटाउने विषयमा अध्ययन गर्न कार्यदल बनाउने निर्णय गरेको हो।
निर्णयअनुसार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन हुने कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन्।
कार्यदललाई सार्वजनिक बिदाको वर्तमान व्यवस्था, आवश्यकतासहित सम्भावित संशोधनका विषयमा अध्ययन गरी १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
सरकारले कार्यदलको प्रतिवेदनका आधारमा सार्वजनिक बिदाको संख्या तथा व्यवस्थाबारे आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ।

