काठमाडौं । संसदतर्फको विरोध मार्चका क्रममा उत्पन्न तनावबीच ककरोच जनता पार्टी (सीजेपी) का प्रतिनिधिमण्डलले सोमबार केन्द्रीय मन्त्री जेपी नड्डासँग भेटवार्ता गर्दै सरकारसमक्ष तीन बुँदे माग पेश गरेको छ।
सीजेपीका प्रवक्ता आशुतोष रांकाका अनुसार सरकारको पहलमा नड्डाको निवासमा करिब १० मिनेट छलफल भएको थियो। प्रतिनिधिमण्डलले आन्दोलनका प्रमुख मागका रूपमा सोनम वाङचुकको तत्काल रिहाइ, केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा तथा आत्महत्या गरेका सबै नीट (NEET) परीक्षार्थीका परिवारलाई एक करोड भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ। नड्डाले मागबारे पार्टी नेतृत्वसँग छलफल गर्ने आश्वासन दिएका छन्।
यसैबीच संसद्को मनसुन अधिवेशन जारी रहँदा प्रधानमन्त्री नरेन्द्र मोदी संसद् भवनबाट बाहिरिएका छन्। संसद् परिसर बाहिर प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्रीको सवारी कडा सुरक्षा व्यवस्थाबीच संसद् क्षेत्रबाट बाहिरिएको थियो।
संसद् भवन वरपर सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच विभिन्न स्थानमा धकेलाधकेल, झडप, लाठीचार्ज तथा अश्रुग्यास प्रहार भएका घटनापछि प्रहरी र अर्धसैनिक बलको उपस्थितिलाई थप बढाइएको छ।
एक महिनाभन्दा बढी समयदेखि जन्तर–मन्तरमा आन्दोलनरत सीजेपीले संसदतर्फ मार्च गर्ने घोषणा गरेपछि जन्तर–मन्तर, रायसिना रोड, रफी मार्ग, कर्तव्य पथ तथा संसद् क्षेत्रका मुख्य स्थानहरूमा व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो। प्रहरीका अनुसार करिब ८ हजार प्रदर्शनकारी मार्चमा सहभागी भएका थिए।
आन्दोलनलाई समर्थन जनाउँदै तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्रा, अभिनेता प्रकाश राज, शबाना आजमी तथा आम आदमी पार्टीका नेताहरू पनि प्रदर्शनस्थलमा पुगेका थिए।
आन्दोलनकारीहरूले प्रहरीमाथि शान्तिपूर्ण प्रदर्शनमा लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको आरोप लगाएका छन्। दिल्ली विश्वविद्यालयकी एक विद्यार्थीले पीटीआईसँग कुरा गर्दै बल प्रयोग भए पनि आन्दोलन जारी रहने बताएकी छन्। अखिल भारतीय विद्यार्थी संघ (एआईएसए) की कार्यकर्ता नेहाले पनि सामाजिक सञ्जाल एक्समार्फत प्रहरीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि बल प्रयोग गरेको दाबी गरेकी छन्।
कांग्रेस सांसद रेणुका चौधरीले संसद् विद्यार्थीहरूको आवाज सुन्ने थलो पनि भएकाले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गर्नु उचित नभएको टिप्पणी गरेकी छन्।
सोमबार दिउँसो जनपथ मेट्रो स्टेशन र प्रेस क्लब आसपास सयौँ प्रदर्शनकारी भेला भएका थिए। उनीहरूले केही समयका लागि संसद् भवनअगाडि पुगेर शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न दिन प्रहरीसँग आग्रह गरेका थिए।
यसैबीच प्रदर्शनका क्रममा एक प्रदर्शनकारीले प्रहरीलाई चुनौती दिएको र त्यसपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ।

