जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम पुग्न लागेका बेला हिन्दुवादी संगठनहरूले विरोध प्रदर्शन गरेका छन्।

सम्राट सेना लगायतका विभिन्न हिन्दुवादी समूहले ‘जय श्री राम’, ‘हर्क साम्पाङ मुर्दाबाद’ लगायतका नाराबाजी गर्दै मन्दिर परिसरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य ठेलमठेल भएको थियो।

प्रदर्शनमा सहभागी समूहहरू मन्दिर परिसर र आसपासका क्षेत्रमा छुट्टाछुट्टै टोली बनाएर बसेका छन्। सम्भावित तनावलाई ध्यानमा राख्दै प्रहरीले जानकी मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ।
धनुषा प्रहरीका अनुसार प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सुरक्षा सुनिश्चित गर्न आवश्यक प्रहरी परिचालन गरिएको छ। हाल अवस्था प्रहरीको निगरानीमा रहेको जनाइएको छ।