काठमाडौं – बागमती प्रदेशको राजनीतिमा नयाँ मोड आएको छ। नेकपा (एमाले) ले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेसँगै प्रदेशको सत्ता समीकरण फेरिने संकेत देखिएको छ।

बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार एमालेले मंगलबारदेखि सरकारबाट बाहिरिने निर्णय गरेको हो। निर्णयअनुसार एमालेका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूले बुधबार मुख्यमन्त्रीसमक्ष आफ्नो राजीनामा बुझाउँदै छन्।

एमाले सरकारबाट बाहिरिएसँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र हुने भएको छ। नेता थपलियाले अब मिल्न सक्ने राजनीतिक शक्तिहरूसँग सहकार्य गरेर नयाँ सरकार बनाइने बताए। उनले नेकपासँग नयाँ सत्ता सहकार्यको सम्भावना रहेको दाबी पनि गरेका छन्।

यस घटनाक्रमअघि मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भक्तपुरस्थित ओली निवासमा समसामयिक राजनीति र सत्ता समीकरणबारे छलफल भएको थियो। शीर्ष नेताहरूको उक्त भेटपछि बागमती प्रदेशमा सत्ता परिवर्तनको प्रक्रिया अघि बढेको राजनीतिक वृत्तमा चर्चा छ।

एमालेको बहिर्गमनसँगै वर्तमान प्रदेश सरकार अल्पमतमा पर्ने वा नयाँ गठबन्धनमार्फत सरकार पुनर्गठन हुने विषय अब केन्द्रमा आएको छ। आगामी केही दिनभित्र नयाँ सत्ता समीकरण स्पष्ट हुने अपेक्षा गरिएको छ।