काठमाडौ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष संयुक्त रूपमा राजीनामा बुझाउँदै सरकारबाट बाहिरिने औपचारिक निर्णय कार्यान्वयन गरेका हुन्।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालको संविधानको धारा १६८(२) बमोजिम पार्टीको निर्णय र वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राखी सरकारमा रहेका सबै मन्त्रीले तत्काल प्रभावबाट राजीनामा दिएको उल्लेख गरिएको छ।
पत्रमार्फत राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन पनि मुख्यमन्त्रीसमक्ष आग्रह गरिएको छ।
यससँगै एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जनाएको छ। संसदीय दलका नेता थपलियाले सरकारप्रतिको समर्थन फिर्ता लिइएको पुष्टि गर्दै अब पार्टी प्रतिपक्षको भूमिकामा रहने बताएका छन्।
एमालेको निर्णयसँगै बागमती प्रदेशको सत्ता समीकरणमा नयाँ राजनीतिक अवस्था सिर्जना भएको छ। अब प्रदेश सरकारको आगामी रणनीति र विश्वासको मतको प्रक्रिया चासोका साथ हेरिएको छ।

