काठमाडौं । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन्।
बिहीबार बिहान करिब ७ बजे ग्रिन बायो फ्युल उद्योग प्रालिभित्र रहेको कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्यास चुहावट भएपछि आगलागी भएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा बाराको प्रसौनी गाउँपालिका–४ का २३ वर्षीय सोमराती अन्सारी, २२ वर्षीय अब्दुल अन्सारी र २५ वर्षीय धर्मराज महत्तो रहेका छन्। उनीहरू सोही उद्योगमा कार्यरत कामदार हुन्।
प्रहरीका अनुसार आगलागीमा परेर उनीहरूको शरीरका विभिन्न भाग जलेका छन्। प्रारम्भिक उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिए पनि थप उपचार आवश्यक परेपछि उनीहरूलाई कीर्तिपुर अस्पताल रिफर गरिएको छ।
राजेश अग्रवालले सञ्चालन गर्दै आएको उक्त उद्योगमा भएको आगलागीको कारण र क्षतिको विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

