काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक कृषि उपजको प्रमाणीकरण देशभित्रै गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अर्गानिक कृषि व्यवसायीहरूको छाता संस्था अग्र्यानिक एसोसियसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण प्रणाली नेपालमै स्थापना गर्ने प्रक्रिया अघि बढाइने बताएका हुन्।

छलफलमा व्यवसायीहरूले विदेशबाट अर्गानिक प्रमाणीकरण गराउँदा अत्यधिक खर्च लाग्ने भएकाले सरकारको पहलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना गर्न माग गरेका थिए। साथै, प्रमाणीकरणमा सरकारले उपलब्ध गराउँदै आएको ७५ प्रतिशतसम्मको अनुदान पुनः सञ्चालन गर्न पनि आग्रह गरेका थिए।

प्रधानमन्त्री शाहले नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्रमाणीकरण प्रणाली स्थापना नभएसम्म अनुदान पुनः सञ्चालन गर्ने विषयमा सरकार सकारात्मक रहेको बताए।

उनले रासायनिक मल र विषादीको अनियन्त्रित प्रयोगलाई नियन्त्रण गर्दै अर्गानिक खेतीको विस्तार र उत्पादन प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत व्यवस्था अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे।

छलफलमा एसोसियसनका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरू तथा अर्गानिक चिया र कृषि उद्योगसँग आबद्ध व्यवसायीहरूको सहभागिता रहेको थियो।