काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय सांसदका स्वकीय सचिव नियुक्तिलाई पारदर्शी, प्रतिस्पर्धी र मितव्ययी बनाउन नयाँ आन्तरिक मापदण्ड लागू गरेको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको निर्देशनअनुसार अब स्वकीय सचिवको नियुक्ति सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत गर्नुपर्नेछ। एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था पनि गरिएको छ।

सरकारले संघीय संसद्का सदस्यलाई शाखा अधिकृत सरहको एक जना स्वकीय सचिव राख्न सक्ने व्यवस्था गरेपछि रास्वपाले नियुक्ति प्रक्रियालाई व्यवस्थित बनाउन मापदण्ड सार्वजनिक गरेको हो।

निर्देशनमा राज्यकोषबाट उपलब्ध हुने सुविधा पारदर्शी र जनउत्तरदायी ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ। स्वकीय सचिवको पारिश्रमिक सम्बन्धित व्यक्तिको बैंक खातामै सिधै जम्मा हुने व्यवस्था अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ।

रास्वपाले उक्त मापदण्डमार्फत स्वकीय सचिव नियुक्तिमा पारदर्शिता, सुशासन र जवाफदेहितालाई थप मजबुत बनाउने उद्देश्य राखेको जनाएको छ।