काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा भएको झडपपछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै सबै पक्षलाई सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।

आयोगले घटनाको विरोधमा विभिन्न स्थानमा टायर बाल्ने, लाठी तथा रडसहित प्रदर्शन हुने गतिविधिले शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै संयम अपनाउन आग्रह गरेको छ।

आयोगले सरकारलाई घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन, प्रहरीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहताका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार सुनिश्चित गर्न निर्देशन दिएको छ।

साथै, राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी र सर्वसाधारणलाई वार्ता र संवादमार्फत विवाद समाधान गर्दै सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आयोगले अनुरोध गरेको छ। आयोगको कोशी प्रदेश कार्यालय, विराटनगरले घटनाबारे प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ।