रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन् ।
यसैबीच, अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनातर्फ उद्धार सामग्रीसहित डेडिकेटेड हेलिकोप्टर परिचालन गरी उद्धार कार्य अघि बढाइएको छ ।
टनेलभित्र रहेका अन्य व्यक्तिको उद्धारलाई प्रभावकारी बनाउन आवश्यक सामग्रीसहित उद्धार टोलीसमेत परिचालन गरिएको जनाइएको छ ।
त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाका लागि पनि आवश्यक तयारी भइरहेको छ । टनेलभित्र अझै रहेका व्यक्तिको उद्धार तथा खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।
प्रतिकूल मौसमका कारण उद्धार कार्यमा केही ढिलाइ भइरहेको भए पनि उद्धार टोलीले निरन्तर प्रयास गरिरहेको बताइएको छ। सम्बन्धित निकायले उद्धार कार्य उच्च प्राथमिकतामा राखिएको जनाएको छ ।
उद्धार अभियान जारी रहेकाले सम्बन्धित सबैलाई धैर्य र संयम कायम राख्न तथा आधिकारिक निकायबाट जारी सूचनामा मात्र विश्वास गर्न आग्रह गरिएको छ ।

