काठमाडौं । रसुवा बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत र उद्धारका लागि कृषि विकास बैंकले ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले यो रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेको हो।
शुक्रबार बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ३ करोड रुपैयाँको चेक हस्तान्तरण गरे। सो अवसरमा बैंकका सञ्चालक समिति अध्यक्ष टंक प्रसाद पाण्डे, उपमहाप्रबन्धक सुशील हुमागाई, विभागीय प्रमुख बीना शर्मा र वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेलको पनि उपस्थिति थियो।
विनाशकारी बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। यस्तो विपद्को बेला सबैले सहयोग गर्नुपर्छ भन्दै बैंकले नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको खाता र क्युआर कोड समेत सार्वजनिक गरेको छ।
देशका विभिन्न ठाउँमा बाढीले गर्दा हजारौँ मानिस प्रभावित भएको अवस्थामा उनीहरूको राहत र पुन:स्थापनामा सहयोग गर्नु आफ्नो सामाजिक जिम्मेवारी भएको बैंकले बताएको छ।

