​चितवन । रसुवाको बाढीमा परेर नारायणी नदीबाट सङ्कलन गरेका शवहरुको पोष्टमार्टम, पहिचान र जैविक नमुना संकलनमा निकै चुनौतीपूर्ण भएको भरतपुर अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता डा. राम प्रसाद सापकोटालेे विज्ञप्ति निकालेर ​अस्पतालसँग उपलब्ध सीमित साधन-स्रोत र न्यून जनशक्तिले एकैपटक सयौँको संख्यामा शवहरू प्राप्त भएपछि शव संरक्षण, पोष्टमार्टम, पहिचान र जैविक नमुना संकलनमा निकै चुनौतीपूर्ण अवस्था सिर्जना भएको जनाएका हुन् ।

यसका साथै चितवनको अत्यधिक तापक्रम र आर्द्रताका कारण शवहरू द्रुत गतिमा बिग्रँदै जाँदा पहिचान र नमुना संकलनको प्रक्रिया थप जटिल बनेको अस्पतालले जनाएको छ।

अस्पतालका प्रवक्ता सापकोटाले अनुसार भदौ ११ गते बिहानैदेखि फरेन्सिक विज्ञको नेतृत्वमा दुईवटा विशेषज्ञ टोली परिचालन गरी शव पहिचानका आवश्यक चिकित्सकीय प्रक्रियाहरू अघि बढाइएको थियो ।

अस्पतालले ​स्थिति नियन्त्रण बाहिर नजाओस् र कामलाई शीघ्रता दिन सकियोस् भन्ने उद्देश्यले भरतपुर अस्पतालले चितवनका स्थानीय मेडिकल कलेजहरू, भेरी अस्पताल, काठमाडौँ तथा पाल्पाका मेडिकल कलेजहरूसँग समन्वय गरी थप फरेन्सिक विज्ञहरूको व्यवस्थापन गरेको जनाएका छन्।

भदौ १२ गतेदेखि चारवटा फरेन्सिक विज्ञ टोली गठन गरी परिचालन गरिएको छ, जसले शवको पहिचान तथा डिएनए लगायतका जैविक नमुना संकलनको काम निरन्तर गरिरहेका प्रवक्ता सापकोटाले बताएका छन् ।

​त्यस्तै, प्रक्रियालाई अझ प्रभावकारी र द्रुत बनाउन भदौ १३ गतेदेखि थप सातजना चिकित्सकहरूको टोली समेत खटाइएको जनाइएको छ । भरतपुर अस्पतालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, जिल्लास्थित प्रशासनिक निकाय, सुरक्षाकर्मी, स्वयंसेवक तथा सञ्चारकर्मीहरूसँग निरन्तर समन्वय गर्दै प्रचलित चिकित्सकीय मापदण्ड र फरेन्सिक विधिअनुरूप सम्पूर्ण काम यथासम्भव छिटो सम्पन्न गर्न क्रियाशील रहेको जनाएको छ।

चितवनमा हिजोसम्म २ सय ३३ वटा शव नारायणी किनारबाट सङ्कलन गरिएको छ । शवको व्यवस्थापन चुनौती भएपछि जिल्ला सुरक्षा समितिले निर्णय गरेर शव माटोमूनी पुर्ने तयारी गरेको छ ।