नुवाकोट । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुन:स्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताएका छन् ।
नुवाकोट सदरमुकाममा जिल्ला समन्वय समितिले शनिवार आयोजना गरेको सर्वपक्षीय छलफलका क्रममा उनले उद्धार, राहत सामग्री वितरण र शव व्यवस्थापन अहिले सरकारको मूल मुद्दा रहेको बताए।
“राहत सामग्री वितरणलाई न्यायोचित ढङ्गले वास्तविक पीडितसम्म पुर्याउने काममा तीनै तहको सरकारले समन्वय गर्न जरुरी छ”, उनले भने, “शव व्यवस्थापन राजनीतिक दलहरूको सर्वस्वीकार्य सहमतिमा गरिन्छ । राज्यले स्रोतको कुनै कमी हुन दिँदैन ।” अर्थमन्त्री वाग्लेले बाढीका कारण सम्पर्क विच्छेद भएका प्रमुख दुईरतीन वटा स्थानमा तुरुन्तै बेलिब्रिज राखिनेसमेत बताए ।

