काठमाडौँ । नेपालमा बाढी र पहिरोले पुर्याएको क्षतिपछि भारत सरकारले उद्धार तथा राहत कार्यका लागि चौथो चरणको सहयोग परिचालन गरेको छ। भारतले अत्याधुनिक उपकरणसहित विशेषज्ञ प्राविधिक टोली नेपाल पठाएको छ।
बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङहरूमा ठूलो सङ्ख्यामा मानिसहरू बेपत्ता भएकाले खोज तथा उद्धारका लागि भारतले ‘टनेल टेक्निकल कन्टिन्जेन्ट’ (सुरुङ प्राविधिक दस्ता) खटाएको हो। भारतका विदेशमन्त्री एस. जयशंकरले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त टोलीसँग सुरुङभित्र उद्धार गर्न आवश्यक पर्ने विशेष उपकरणहरू रहेको बताएका छन् ।
चौथो चरणको यो सहयोग टोलीमा सुरुङ विज्ञका साथै डीएनए विशेषज्ञ र तत्काल यातायात सहज बनाउन बेली ब्रिज निर्माण गर्ने प्राविधिक टोलीसमेत समावेश छन्। भारतले यसअघि पनि राहत तथा उद्धारका लागि विभिन्न चरणमा सहयोग पठाउँदै आएको थियो।

