काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या ७३४ पुगेको छ। नेपाल प्रहरीले आइतबार बिहान ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित विभिन्न जिल्लाबाट ७३४ जनाको शव फेला परेको जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै २५९ जना छन्। त्यस्तै नवलपरासी पूर्वमा १८५, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ।
बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले हालसम्म २ हजार ६९९ जनाको उद्धार गरेका छन्। उद्धार गरिएकामध्ये रसुवाका ६७६, नुवाकोटका २ हजार २० र धादिङका तीन जना रहेका छन्।
WorldLink
बाढीबाट प्रभावित भई काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेका तथा उपचारपछि १६० जना घर फर्किएका प्रहरीले जनाएको छ।
यसैबीच, बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ८४ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीनमध्ये नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना छन्।
बाढी प्रभावित क्षेत्रमा बेपत्ता नागरिक तथा सुरक्षाकर्मीको खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

