काठमाडौँ – भोटेकोसीमा आएको भीषण बाढीपछि पूर्वी नवलपरासीमा हालसम्म १६८ जनाको शव फेला परेको छ। तीमध्ये ९ जनाको मात्र सनाखत भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपी रमेश पण्डितले जानकारी दिएका छन्।

नारायणी नदी किनारमा ५२ वटा मानव अङ्गसमेत फेला परेको प्रहरीले जनाएको छ। फेला परेका मानव अङ्गमा खुट्टा, हात, तिघ्रा तथा टाउकोका केही भाग रहेका छन्।

शवको संख्या धेरै भएकाले व्यवस्थापनमा समस्या भएपछि स्थानीय प्रशासनले ट्याग लगाएर १ सय शव गाडेर व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको छ।

सनाखत भएका शवमध्ये नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–१ का यादव भण्डारीको शव परिवारका सदस्यले पहिचान गरेका हुन्।

त्यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ का उद्धव खड्का, धादिङको खनियाँबासका सन्जोग घर्तीमगर, अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का नारायणबहादुर थापा, हेटौँडा–१५ का सुमन गोले र नुवाकोटको विदुर नगरपालिका–७ की शारदा ढकालको पनि सनाखत भएको छ।

गोरखाको पालुङटार नगरपालिका–५ की कमला देवकोटा, चितवनको माडी नगरपालिका–७ का विमल काफ्ले र पालुङटारकी सुजाता कौरालाको शव पनि पहिचान भएको एसपी पण्डितले बताए।

सनाखत भएका सबै शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।