भोटेकोसी बाढीका कारण त्रिशूली-३ ‘ए’को सुरुङमा फसेका कर्मचारी र मजदूरको उद्धारका लागि प्वालमार्फत अक्सिन पठाउन थालिएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार, सुरुङ स्थालमा पाँच वटा प्वाल पारिएको छ। यससँगै ‘भर्टिकल होल’मार्फत सुरुङभित्र अक्सिजन पठाउन सुरु गरिएको प्राधिकरणले जनाएको छ।
प्राविधिक टोलीले करिब आठ मिटर ‘ड्रिलिङ’ गरी सुरुङसम्म प्वाल बनाएको हो। प्वालबाट ‘एयर कम्प्रेसर’मार्फत सुरुङभित्र अक्सिजन पठाइएको प्राधिकरणको भनाइ छ।
त्यसैगरी ड्रिलमार्फत सन्देश पठाइएको भए पनि भित्रबाट हालसम्म कुनै जवाफ प्राप्त भएको छैन। सुरुङभित्र प्रकाश तथा ध्वनि संकेत पठाउने प्रयास भइरहेको छ।
सुरुङको वास्तविक अवस्था पत्ता लगाउन एक्स्काभेटरमार्फत खन्ने कार्य जारी छ। थप ड्रिलिङ तथा आवश्यक प्रविधिसहितका उपकरणमार्फत सुरुङ क्षेत्रमा उद्धार कार्य जारी रहेको छ।
त्रिशूली–३ ‘ए’को सुरुङभित्र रहेका ४२ जना सम्पर्कविहीन छन्। उनीहरूको उद्धारका लागि प्रयास भइरहेको छ।

