बझाङ । बुङ्गल नगरपालिका-३, भानपालीकी २६ वर्षीया विनीता बोहरालाई प्रसूतिका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा स्वास्थ्य थप जटिल बन्यो ।

स्वास्थ्य संस्था पुग्न समय लाग्ने अवस्था भएपछि खिरातडी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी प्रेमिला कुमारी बोहरा घटनास्थलमै पुगिन् र गाडीभित्रै आपत्कालीन प्रसूति व्यवस्थापन गरिन्। उनको समयमै गरिएको प्रयासपछि विनीताले ३ दशमलव ३ किलोग्राम तौलकी छोरीलाई सुरक्षित जन्म दिइन्।

शनिवार साँझ प्रसूतिका लागि विनीतालाई खिरातडी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमै प्रसूति जटिलता देखिएको थियो। स्वास्थ्य संस्थासम्म पुग्न ढिलाइ हुने देखिएपछि घटनाबारे सिनियर अनमी बोहरालाई जानकारी गराइएको थियो।

जानकारी पाएलगत्तै घटनास्थल पुगेकी अनमी बोहराले गाडीमै बिनिताको स्वास्थ्य अवस्था मूल्याङ्कन गरिन्। शिशुको काँध अड्किएको अवस्था पहिचान भएपछि उनले उपलब्ध सीमित स्रोत–साधनको प्रयोग गर्दै तत्काल आपत्कालीन प्रसूति व्यवस्थापन सुरु गरिन्।

‘प्रसूति व्यथाले च्यापेपछि उहाँलाई स्वास्थ्य चौकी लैजान भनिएको थियो। बाटोमै थप समस्या भएपछि मलाई बोलाउनुभयो। म तत्काल त्यहाँ पुगेँ,’ अनमी बोहराले भनिन्, ‘समयमै प्रसूति गराउन सकेकाले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो भयो।’

अनमी बोहराको प्रयासपछि विनीताले गाडीमै ३ दशमलव ३ किलोग्राम तौलकी छोरीलाई जन्म दिइन्। जन्मिएलगत्तै नवजात शिशु केही समय निसासिएको अवस्थामा रहे पनि अनमी बोहराले तत्काल आवश्यक व्यवस्थापन गरेपछि शिशुको अवस्था सामान्य हुँदै गएको बताइन्। हाल आमा विनीता र नवजात शिशु दुवैको अवस्था सामान्य रहेको जनाइएको छ।

आमा र नवजातको ज्यान जोगाउन घटनास्थल पुगेकी अनमी बोहरा आफैँ सात महिने शिशुकी आमा हुन्। आफ्नै शिशुको हेरचाह गर्नुपर्ने जिम्मेवारीका बाबजुद उनले आपत्मा परेकी अर्की आमाको जीवन जोगाउन तत्काल घटनास्थल पुगेर सेवा प्रदान गरेकी हुन्।

दुर्गम क्षेत्रमा प्रसूतिका क्रममा आकस्मिक जटिलता देखिँदा स्वास्थ्य संस्थासम्म पुग्न लाग्ने समय, विशेषज्ञ सेवा तथा आवश्यक उपकरणको अभाव चुनौतीका रूपमा रहने गरेको छ। यस्तो अवस्थामा स्वास्थ्यकर्मीको तत्काल निर्णय, सीप र अनुभवले आमा तथा नवजातको जीवन जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

बिनिताको घटनामा पनि समयमै जटिलता पहिचान गरी तत्काल प्रसूति व्यवस्थापन गरिएकै कारण आमा र नवजात दुवै सुरक्षित भएको बताइएको छ। दुर्गम क्षेत्रमा आकस्मिक प्रसूति सेवाका लागि दक्ष जनशक्ति, आवश्यक उपकरण तथा समयमै स्वास्थ्य सेवा उपलब्ध नहुँदा विभिन्न घटना हुने गरेका थिए । तर अहिले अनमीको सुझबुझले आमा र शिशु दुवैको ज्यान जोगिएको छ ।