गत बुधबार भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अधिकांश क्षेत्रमा मोबाइल सेवा पुनः सुरु भएको सेवाप्रदायकले दाबी गरेका छन् । बिटिएस टावर तथा अप्टिकल फाइबर मर्मत–सम्भार तथा पुरानो माइक्रोवेभ लिंकको प्रयोग गर्दै बाढी प्रभावित क्षेत्रमा सेवा पुनः सुरु भएको उनीहरूले बताएका छन् ।

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आइतबारदेखि पुनः सेवा सुरु गरेको उल्लेख गरेको छ । रसुवा जिल्लाअन्तर्गत नेपाल–चीन सिमानामा रहेको रसुवा बोर्डर साइटलगायत अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ साइटहरू आइतबारदेखि सञ्चालनमा आएको टेलिकमले जनाएको छ । त्यसैगरी नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी बिटिएस साइट पनि आइतबारदेखि नै सञ्चालानमा आएका छन् ।

‘रसुवा बोर्डर बिटिएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेँसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुनः सञ्चालनमा आएका छन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ, आमाछोङ्दिमो गाउँपालिका वडा नम्बर ५ लगायतका स्थानमा मोबाइल सेवा उपलब्ध हुनेछ ।’ त्यस्तै, छापथोके साइटबाट मोबाइल सेवा प्राप्त हुने स्थानहरू वेत्रावती, काउली, त्रिशूली थ्री–बी, उत्तरगया गाउँपालिका र किस्पाङ रहेका छन् ।

कम्पनीका अनुसार जिपजिपे साइटबाट सेवा प्राप्त हुने स्थानहरू कालिका गाउँपालिकाका वडा नम्बर २ र ५, धारापानी र देउरालीडाँडा रहेका छन् । त्यसैगरी, गत्लाङ बिटिएस साइटमार्फत गत्लाङ, गोल्जुङ, चिलिमे, ठुलो भार्खु, शेर्पा गाउँ, ठुलो स्याफ्रु, स्याफ्रुबेँसी, खाङजुम र बरिम रहेका छन् । चारघरे तथा चारघरे मुलाबारी बिटिएस साइटबाट विदुर नगरपालिकाको वडा नम्बर १२ र १३ मा मोबाइल सेवा सुचारु भएको छ ।

यसअघि टेलिकमले शनिबार रसुवाको त्रिशूली थ्री–ए जलविद्युत् आयोजनासँगै रहेको टावर, रसुवाकै तुप्चे बिटिएस, रसुवाकै उत्तरगया गाउँपालिकाको कालिकास्थान टावर, नुवाकोट जिल्लाको तुप्चे र बुङताङ बिटिएस, कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर पुनः सञ्चालनमा ल्याएको थियो । हालसम्म बाढीबाट क्षति पुगेको नेपाल टेलिकमका एक सय २० साइटमध्ये एक सय साइट सञ्चालनमा आइसकेका छन् । अन्य साइट पनि पुनः सञ्चालनका लागि प्रयास भइरहेको टेलिकमले जनाएको छ ।

एनसेलले शनिबार राति थप तीनवटा र आइतबार तीनवटा बिटिएस टावर पुनः सञ्चालनमा ल्याएको छ । यससँगै एनलेसका २७ मध्ये २४ साइट सञ्चालनमा आइसकेका छन् । बाँकी तीनवटा टावर पनि पुनः सञ्चालनका लागि कार्य भइरहेको कम्पनीले जनाएको छ । यद्यपि, रसुवाका दुई र नुवाकोटको एउटा बिटिएसमा भने ठुलै भौतिक क्षति भएका कारण पुनः सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको कम्पनीले उल्लेख गरेको छ ।

एनसेलले नुवाकोट र रसुवमा रहेका कालिकास्थान, च्वोर्टोल, चुली, बट्टार, विदुर, दुई पिप्ले, तारुक, माडेडाँडा, खड्काभञ्ज्याङ, महामण्डल, गजुेटार, देउराली, पिपलटार, धुन्चे, खल्चेत भञ्ज्याङ, गोल्जुङ, गोत्लान, सुनौला बजार, खाल्टे, भूमिडाँडा, गल्छी बिटिएस टावर पुनः सञ्चालनमा आएका हुन् । रसुवा, नुवाकोट र धादिङमा एनसेलका ७८ साइट रहेका थिए । यसमध्ये ७५ वटा सञ्चालनमा छन् ।

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराइरहेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा राहत वितरण तथा उद्धार कार्यको सहजताका लागि अर्को व्यवस्था नभएसम्मका लागि निरन्तर उपलब्ध गराउने भएको छ । यसअघि एनसेलले पनि बाढी प्रभावित क्षेत्रमा थप सात दिन निःशुल्क सेवा दिने घोषणा गरिसकेको छ ।

बाढी प्रभावित क्षेत्रका लागि २० स्याटेलाइट फोन
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियू)बाट विपत् सहयोगस्वरूप प्राप्त गरेका यी फोनहरू राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो ।