अमेरिकाले इरानमाथि आक्रमण गरेको जवाफमा इरानले सोमबार जोर्डनस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ। आफ्नो भूमिमा एक महिनापछि भएको पहिलो अमेरिकी आक्रमणको जवाफमा इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य वेशलाई लक्षित गरेको हो।

यो आक्रमणपछि अमेरिका र इरानबिच फेरी तनाब बढेको छ। इरानको शक्तिशाली रिभोलुसनरी गार्ड्स (आइआरजीसी) ले जोर्डनमा रहेका दुई अमेरिकी हवाई अखडामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी ठूलो क्षति पुर्याएको दाबी गरेको छ । तर जोर्डनको सेनाले आठवटा क्षेप्यास्त्रलाई आकाशमै नस्ट गरिएको जनाएको छ।

अमेरिकाले आइतबार हर्मुजमा रहेको एउटा सानो टापुमा इरानी रकेट प्रक्षेपण केन्द्रलाई लक्षित गरी आक्रमण गरेको थियो। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार हर्मुजमा तत्काल खतरा उत्पन्न गरिरहेका इरानी रिभोलुसनरी गार्ड्सले समुद्री बारुदी सुरुङ बिछ्याउने फौजविरुद्ध सीमित र सटीक कारबाही गरिएको जनाएको छ।

अमेरिकी सेनाका अनुसार हर्मुजको अन्तर्राष्ट्रिय जलमार्गबाट समुद्री बारुदी सुरुङ हटाउने काम गत साता पूरा गरिएको थियो। वासिङ्टनले इरानलाई थप बारुदी सुरुङ बिछ्याउनबाट रोक्ने उद्देश्यले पछिल्लो कारबाही गरेको जनाएको छ।

यसैबीच, पाकिस्तान र कतारलगायतका मध्यस्थकर्ताले युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी राखेका छन् । अप्रिलमा युद्धविराम भए पनि त्यसयता स्थायी शान्ति सम्झौता हुन सकेको छैन्।

आज अमेरिकी आक्रमणको खबरपछि अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै ब्रेन्ट कच्चा तेलको मुल्य प्रतिब्यारेल ९० डलर र वेस्ट टेक्सास इन्टरमिडियट ८५ डलरभन्दा माथि पुगेको छ।