काठमाडौं । सत्तारुढ दल रास्वपाले राखेको सर्वदलीय बैठकमा विपद्को बेलामा सबै एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ। सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालको कारणले गर्दा भएको विपत्ति नभएको बताए।
उनले भने, ‘यो विपत्ति भएको कारण भनेको कार्बन उत्सर्जन गर्ने अरू राष्ट्रका कारणले गर्दा हामीले विपत्ति भोगिरहेका छौँ। यसको क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ। अन्तर्राष्ट्रिय समुदायकहाँ जानुपर्छ कि संयुक्त राष्ट्रसंघमा जानुपर्छ ? हामीले त्यो संसद्बाट पास गरेर हाम्रो हकदाबी गर्ने हो। हामीले क्षतिपूर्तिसहित माग गर्नुपर्छ।’
उनले बैठकमा सुरुङमा फसेकाहरूको उद्धारदेखि राहत वितरणको विषयमा छलफल भएको बताए। सङ्कटको बेलामा विभाजित नभएर सरकारलाई साथ दिनुपर्ने बताए।
उनले सङ्घीय सरकारले तीनै तहका सरकारबीच समन्वय गर्नुपर्ने विषयमा पनि छलफल भएको बताए।

