काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार र राहत वितरणसँगै पुन:स्थापनाको काम अघि बढाएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत विस्तृत जानकारी सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले प्रभावित नागरिकको जीवन रक्षा, उपचार र मनोपरामर्शलाई निरन्तरता दिँदै सरकार पुन:स्थापनातर्फ केन्द्रित भएको बताएका हुन्। आवश्यकताअनुसार खोज, उद्धार र राहतमा जनशक्ति खटाइरहने उनको भनाइ छ।
प्रधानमन्त्री शाहले विपद्का बेला साहस, धैर्य, साथ, सहयोग र सहजीकरण गर्ने संघ, प्रदेश र स्थानीय तह, सुरक्षाकर्मी, राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय समुदाय, स्वयंसेवी संस्था तथा स्वदेश–विदेशमा रहेका नागरिकप्रति आभार व्यक्त गरेका छन्।
प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा
प्रधानमन्त्री शाहका अनुसार सरकारले बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ। उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत आवश्यकताका आधारमा प्रभावित स्थानीय तहलाई उपलब्ध गराउन निर्देशन दिइएको छ।
त्यसमध्ये तीन जिल्लाका १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको उनले बताएका छन्। सरकारले बाढी आएलगत्तै रसुवा र नुवाकोटलाई एक-एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ पठाएको थियो। प्रभावित स्थानीय तहका लागि थप ६ करोड ७५ लाख रुपैयाँसमेत निकासा गरिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।
नुवाकोटका १९ अस्थायी आश्रयस्थलमा दुई हजार ६५३ जनाले आश्रय तथा राहत प्राप्त गरिरहेका छन्। रसुवाका प्रभावितलाई पनि नुवाकोटमै आश्रय र राहत उपलब्ध गराइएको छ।
११ हजार ८८४ जनाको उद्धार, तीन हजार ९१६ सम्पर्कविहीन
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ भने तीन हजार ९१६ जना सम्पर्कविहीन छन्।
उद्धारपछि विभिन्न अस्पतालमा भर्ना गरिएका २९२ घाइतेमध्ये १८२ जना उपचारपछि घर फर्किएका छन्। नुवाकोटमा दुई हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौँमा ३२९ जनाले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्।
सडक र पुलमा व्यापक क्षति
बाढीले गल्छी-वेत्रावती-रसुवागढी सडक र पृथ्वी राजमार्गको गल्छी-मुग्लिङ खण्डको अधिकांश भागमा क्षति पुर्याएको प्रधानमन्त्री शाहले बताएका छन्।
उनका अनुसार गल्छी-वेत्रावती-रसुवागढी सडकको ८२ किलोमिटर क्षेत्रमा क्षति पुगेको छ। विदुर-वेत्रावती-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी खण्डको ४० किलोमिटर पूर्ण रूपमा र १६ किलोमिटर आंशिक रूपमा क्षतिग्रस्त भएको छ। पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीर क्षेत्रमा पनि क्षति पुगेको छ।
बाढीले ४८ झोलुंगे पुलमा क्षति पुर्याएको छ। तीमध्ये २० वटा मर्मत गर्न सकिने र २८ वटा नयाँ निर्माण गर्नुपर्ने अवस्था छ। प्रभावित क्षेत्रमा ३१ वटा मोटरेबल पुल बगेका छन्। तीन स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको छ भने थप २० स्थानमा बेलिब्रिज राख्न सम्भाव्यता अध्ययन भइरहेको छ।
पृथ्वी राजमार्गअन्तर्गत गल्छी, बैरेनी, जरीखेत, पोखरे, मुंगे र गलौदी खण्डको लेदो हटाएर यातायात सञ्चालनमा ल्याइएको छ। गल्छी-वेत्रावती सडकको गल्छी-देवीघाट खण्डमा लेदो हटाउँदै बेलिब्रिज निर्माणको काम भइरहेको छ।
तादी-देवीघाटमा बेलिब्रिज राख्ने तयारी तीव्र पारिएको छ भने बेत्रावतीमा उपलब्ध बेलिब्रिज राख्ने काम सुरु भएको छ। सडक निर्माण र मर्मतमा ५० प्राविधिक कर्मचारी कार्यरत छन्।
सडक बोर्डअन्तर्गत आपत्कालीन कामका लागि तीन करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ। अन्य आवश्यक रकम आयोजना अन्तर्गत विनियोजित बजेटबाट खर्च गर्न अनुमति दिइएको छ। क्षतिग्रस्त भौतिक पूर्वाधारको विवरण हेलिकप्टर र पैदलमार्फत संकलन भइरहेको छ।

