काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित विपद्का विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको अनुगमन गर्दा २१ वटा सामग्री पत्रकार आचारसंहिता प्रतिकूल पाइएको छ।
प्रेस काउन्सिल नेपालले २०८३ भदौ १७ गते गरेको अनुगमनमा बाढी तथा उद्धारसम्बन्धी कुल २४ वटा सामग्री अध्ययन गरेको थियो। अनुगमन गरिएका सामग्रीमध्ये १४ वटा दर्ता भएका सञ्चारमाध्यम र १० वटा दर्ता नभएका मिडियाका सामाजिक सञ्जालबाट सम्प्रेषित भएको पाइएको काउन्सिलले जनाएको छ।
अनुगमनका क्रममा दर्ता भएका सञ्चारमाध्यममा प्रकाशित ९ वटा र दर्ता नभएका मिडियाबाट सम्प्रेषित ९ वटा गरी १८ सामग्रीमा आचारसंहितासम्बन्धी विषय देखिएको थियो। समग्रमा २१ वटा सामग्रीलाई स्थगन वा सम्पादन गर्न सम्बन्धित पक्षलाई टेलिफोन, म्यासेन्जर तथा पत्रमार्फत निर्देशन तथा ध्यानाकर्षण गराइएको काउन्सिलको विवरणमा उल्लेख छ।
काउन्सिलका अनुसार भोटेकोशी बाढीसम्बन्धी सामग्री सम्प्रेषण गर्दा केही सञ्चारमाध्यमले अन्योल, भ्रम तथा त्रास उत्पन्न हुनसक्ने शीर्षक तथा प्रस्तुति प्रयोग गरेका थिए। त्यसमध्ये एउटा सामग्रीमा ‘सात दिनमा सरकारले आयोजनाहरूलाई भन्यो– सुरुङबाट उद्धार गर्न सकेनौँ आफैं गर’ भन्ने आशयको शीर्षक प्रयोग गरिएको थियो
उक्त शीर्षकले विपद्को संवेदनशील अवस्थामा पाठक तथा सर्वसाधारणमा अन्योल र भ्रम सिर्जना गर्नसक्ने देखिएपछि ध्यानाकर्षण गराइएको काउन्सिलले जनाएको छ। सम्बन्धित सञ्चारमाध्यमले पछि शीर्षक सम्पादन गरे पनि सम्पादन नगरिएको ग्राफिक्स अन्य सामाजिक सञ्जालमार्फत पुनः शेयर भएको अनुगमनका क्रममा भेटिएको थियो।
यस विषयमा समेत सम्बन्धित पक्षलाई आवश्यक ध्यानाकर्षण तथा निर्देशन दिइएको काउन्सिलले जनाएको छ।

