काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पदबाट राजीनामा दिएका छन् । बाग्मती प्रदेश सरकारका सन्दर्भमा पार्टीको विवादित निर्णयपछि उनले उपाध्यक्षबाट राजीनामा दिएका हुन् ।

पार्टी केन्द्रको संस्थागत निर्णय विपरीत बाग्मती प्रदेशमा राप्रपा सरकारमा सहभागी भएको छ । पार्टी निर्णय र निर्देशन उल्लंघन गर्दै बाग्मतीका सात जना सांसदले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थिए । राप्रपाबाट तीनजना मन्त्रीसमेत बनेका छन् । जबकि राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रदेश सरकारमा सहभागी नहुने र कसैलाई समर्थन पनि नगर्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री थापालाई विश्वासको मत हाल्ने राप्रपाका सात सांसदमध्ये एकजना बुद्धिमान तामाङका आफ्नै भाइ डम्मर तामाङ पनि छन् । उनी हाल बाग्मतीमा राप्रपा संसदीय दलका प्रमुख सचेतक हुन् । यसअघि दलकी प्रमुख सचेतक कुमारी तामाङ थिइन् । उनी सरकारमा नजाने पार्टी निर्णयको पक्षमा उभिएपछि संसदीय दलका नेता उद्धव थापाले उनलाई पदबाट हटाएर डम्बरलाई प्रमुख सचेतक बनाएका हुन् ।

राप्रपा उपाध्यक्ष तामाङ पनि बाग्मती सरकारमा सहभागी हुने पक्षमा थिए । तर पार्टीले नजाने निर्णय गरेपछि उनले त्यसलाई स्वीकारेको राप्रपा स्रोतको दाबी छ । बाग्मतीमा आफ्नै भाइले पार्टी निर्णयको उल्लंघन गरेकाले आफूलाई पदमा बसिरहन नैतिक संकट उत्पन्न भएको तामाङले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापा र सरकारमा मन्त्री बनेका तीनजना (राजु विष्ट, राजेन्द्र प्रजापति, र गिरबहादुर तामाङ) लाई राप्रपाले कारबाही गरेको छ । उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्काशन गरिएको छ भने संसदबाट समेत पदमुक्त गर्न बाग्मती प्रदेश सभा सचिवालयलाई पत्राचार गरिएको छ । तर बाग्मतीका सभामुखले उनीहरूलाई पदमुक्त गरेका छैनन् ।

संसदीय दलका नेता थापाले पार्टीको निर्णयविरुद्ध अदालतमा जाने बताएका छन् । त्यसो त बाग्मती सरकारको वैधानिकताको मुद्दा अदालतमा विचाराधीन नै छ ।

महामन्त्री भन्छन्- राजीनामा स्वीकृत नहुन सक्छ

राप्रपा महामन्त्री राजेन्द्र गुरुङले उपाध्यक्षबाट बुद्धिमान तामाङले राजीनामा दिएको पुष्टि गरे । तर राजीनामा स्वीकृत नभइसकेको उनको भनाइ छ ।

गुरुङले भने, ‘उहाँले ५-७ दिनअघि राजीनामा बुझाउनुभएको हो । तर अध्यक्षज्यूले स्वीकृत गर्नु भएको छैन । राजीनामा स्वीकृत नहुन पनि सक्छ ।’

यस विषयमा अध्यक्ष लिङदेनले आफैं निर्णय लिने वा पार्टी बैठक बोलाएर छलफल गर्ने सक्ने गुरुङले बताए । राजीनामा बाग्मती सरकारको विषयसँग सम्बन्धित रहेको उनको भनाइ छ ।

तामाङ राप्रपाका पुराना नेताहरूमध्ये पर्छन् ।

२०७८ सालको महाधिवेशनमा उनी कमल थापाको प्यानलबाट उपाध्यक्षमा प्रत्यक्ष निर्वाचित भएका थिए । पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय उनी ७ पटकसम्म मन्त्री बनिसकेका छन् । हाल पार्टीको आन्तरिक गुटबन्दीमा उनी संस्थापन पक्ष अर्थात् राजेन्द्र लिङदेनतिर छन् । तर बाग्मती प्रदेश सरकारका सन्दर्भमा लिङदेनसँग उनको कुरा मिलेन ।