पोखरा- फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा दुई जनाको मृत्यु भएको छ। कारमा सवार अन्य दुई जना घाइते छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घटना शुक्रबार बिहान करिब ४ बजेर ५० मिनेटको हो।

पोखरा-१८, सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको बिआर ०५ बिबि ६७५९ नम्बरको कार ताल किनारको गैरीचौतारा घुम्तीबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा भारतको बिहार प्रदेश इस्ट चम्पारसन जिल्ला रक्सोल घर भएका २६ वर्षीय नवदीप कुमार यादव र सोही ठाउँका करिब २६ वर्षीय प्रियान्सु पाण्डे हुन्।

यसैगरी, मोतीहारी जिल्ला रक्सोल घर बताउने २७ वर्षीय अनमोलकुमार यादव र सोही ठाउँका ३३ वर्षीय सुरज यादव घाइते छन्।

दुर्घटनाको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नेपाल नं. हेडक्वार्टर कालिका गणबाट खटिएको संयुक्त प्रहरी टोलीले तालको करिब २० फिट गहिराईबाट २ जनालाई अचेत अवस्थामा फेला पारेको थियो।

उनीहरुलाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका हुन्। घाइते अरु दुई जना अनमोलकुमार यादव र सुरज यादवको अवस्था खतरामुक्त छ।

बिहान ६ बजे क्रेनको सहयोगमा कार बाहिर निकालेर वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ। उद्धारमा वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा १५ जनाको प्रहरी टोली र सशस्त्रबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा १३ जनाको टोली खटिएको थियो।

चालकले नियन्त्रण गुमाउन दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।