काठमाडौँ । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको विशेष पहलमा प्राप्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो ।

स्विट्जरल्यान्डको चर्चित ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ ले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिनेछ ।

स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञहरूले ड्रोन नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् । मानिस प्रवेश गर्न कठिन हुने अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको बताइएको छ ।

विशेष सुरक्षा घेरा जडान गरिएको ड्रोन सुरुङका भित्ता, चट्टान वा अन्य संरचनामा ठोक्किँदा पनि क्षति नपुगी पुनः उडान गर्न सक्ने क्षमताको रहेको छ । यसबाट सुरुङभित्रको वास्तविक अवस्था प्रत्यक्ष पहिचान गरी फसेका व्यक्तिको अवस्था बुझ्न, जोखिम मूल्याङ्कन गर्न र उद्धार रणनीति तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उद्धारकर्तालाई सुरुङभित्र प्रवेश गराउनुअघि सम्भावित जोखिम पहिचान गर्न तथा कठिन परिस्थितिमा खोज तथा उद्धारलाई सुरक्षित र प्रभावकारी बनाउन नयाँ प्रविधिले महत्वपूर्ण सहयोग पुर्‍याउनेछ । जलविद्युत् आयोजना तथा अन्य भूमिगत संरचनामा हुने दुर्घटनामा खोज तथा उद्धार चुनौतीपूर्ण बन्दै गएको अवस्थामा यस्तो प्रविधिको प्रयोगलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।