शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा वीरगंजस्थित गण्डकको क्लार्क रिसोर्ट होटलमा रहेको क्यासिनोबाट अध्यक्ष यादवसहित ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। गाउँपालिकाको ना१झ १६८७ नम्बरको सरकारी स्कर्पियोसमेत क्यासिनो परिसरबाट प्रहरीले नियन्त्रणमा लिइएको छ।
यादवसहित अन्य सातजना पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी पवनकुमार भट्टराईले पुष्टि गरे । सरकारी सवारीसाधन प्रयोग गरी जनप्रतिनिधि क्यासिनो परिसरमा पुगेको विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले अध्यक्ष यादवसहित केहीलाई नियन्त्रणमा लिइएको र आज आइतबार सार्वजनिक गरिने बताए ।
राजनीतिक पहुँचका आधारमा हेटौँडा, कलैया, पर्साका विभिन्न पालिकाका राजनीतिक घराना तथा व्यापारी भारतीय रासन कार्ड देखाउँदै क्यासिनोमा सुरक्षित भइरहेका थिए । धेरैको घरबार नै बिचल्ली भएको घटनापछि क्यासिनोमा प्रहरीको निगरानी बढेको हो । यसपटक पालिका प्रमुख नै भेटिएका हुन् ।

