काठमाडौँ । कालिकोटको नरहरिनाथ गाउँपालिकामा जेन जेडका युवा भन्दै आएका केही स्थानीयले कार्यालयको मूल गेटमा ताला लगाएपछि प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर नेपालीसहित कर्मचारी केही घण्टा कार्यालय भवनभित्रै थुनिएका छन्। पछि प्रहरी पुगेर ताला खोलेको प्रमुख प्रशासकीय अधिकृत नेपालीले प्रशासनलाई बताएका छन्।

कालिकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले पनि घटनाको पुष्टि गर्दै केही स्थानीय युवाले गाउँपालिका कार्यालयमा ताला लगाएको र पछि सुरक्षाकर्मी पुगेर ताला खोलेको प्रशासनलाई बताए। घटनामा संलग्न युवालाई प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ।

सार्वजनिक बिदाका दिन बजेटसम्बन्धी कामका लागि कर्मचारी कार्यालयमा रहेका बेला घटना भएको हो। कार्यालय भवनको माथिल्लो तलामा कर्मचारीको क्वार्टरसमेत रहेकाले प्रमुख प्रशासकीय अधिकृत नेपाली त्यहीँ थिए।

नेपालीका अनुसार बिहान करिब ११ बजेतिर ‘जेनजी युवा’ भन्दै तीन जना स्थानीय युवा उनी बसेको क्वार्टरसम्म पुगेका थिए। सुरुमा उनीहरूले गाउँपालिकाका विषयमा छलफल गर्न चाहेको बताएका थिए।

‘तीन जना स्थानीय साथीहरू आउनुभएको थियो। म क्वार्टरमै थिएँ। ढोका ढकढक गरेपछि बाहिर निस्किएँ। उहाँहरूले “सरसँग कुरा गरौँ भनेर आएको” भन्नुभयो,’ नेपालीले प्रशासन सिंहदरबार विशेष ब्युरोसँग भने।

नेपाली भदौ २ गते मात्रै नरहरिनाथ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएका हुन्। आफू नयाँ भएकाले स्थानीय अवस्था र उनीहरूले उठाएका विषयबारे विस्तृत जानकारी नभएको उनले ती युवालाई बताएका थिए।