काठमाडौं। अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)मा फाइनलमा प्रवेश गरेको ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा हराउँदै अन्नपूर्ण उपाधि नजिक पुगेको हो ।
अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रह्यो । लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ ।
पहिलो सेटमा २१–२५ ले पछि परेको अन्नपूर्णले बाँकी सेटको नतिजा लगातार आफ्नो पक्षमा पार्यो ।
अन्नपूर्णले दोश्रोमा २५–२३, तेश्रोमा २५–१४ र चौथोमा २५–२० को प्रदर्शन गर्दै जित सुनिश्चित गर्यो । अन्नपूर्णका एन्ख एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ द म्याच’ घोषित भए ।
छ टिम सहभागी लिगमा अन्नपूर्णको यो लगातार चौथो जित हो । पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवरजासँग ३–१ ले पराजित भएको थियो ।
अन्नपूर्णले दोश्रो खेलमा काठमाडौं रेड्सलाई ३–०, तेश्रोमा मधेश वारियर्सलाई ३–१ र खप्तड फाल्कन्सलाई ३–० ले हराएको थियो ।
सगरमाथा लगातार तेश्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । अन्नपूर्णसँग पराजित हुनुअघि सगरमाथा कर्णालीसँग ३–२ तथा काठमाडौं रेड्ससंग ३–० ले चुकेको थियो । २ खेल जितेको सगरमाथाले मधेशलाई ३–१ र खप्तडलाई ३–० ले हराएको थियो ।
प्रतियोगिताअन्तर्गत आजै २ खेल हुँदैछन् । मधेश र कर्णालीबीच ४ः०० बजे र काठमाडौं रेड्स र खप्तडबीच ७ः०० बजे खेल हुनेछ ।

