काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित नुवाकोट र रसुवा जाने पार्टी टोलीलाई स्थानीय तह, प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरी राहत र उद्धारमा खटिन निर्देशन दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले एमालेको सम्पर्क विशेष सङ्गठन कमिटीअन्तर्गत परिचालित टोलीलाई निर्देशनसहित प्रभावित क्षेत्रतर्फ पठाएका हुन्।
अध्यक्ष ओलीले प्रभावित क्षेत्रमा पुगेपछि त्यहाँको वास्तविक अवस्था र पीडितको तत्कालीन आवश्यकता बुझेर काम गर्न टोलीलाई निर्देशन दिए।
उनले बाढी प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन तथा उद्धारको आवश्यकता रहेका ठाउँमा प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरे।
राहत तथा उद्धारका गतिविधिलाई व्यवस्थित बनाउन सम्बन्धित स्थानीय तह, स्थानीय प्रशासन र अन्य सरोकारवाला निकायसँग निरन्तर समन्वय गर्नुपर्नेमा ओलीले जोड दिए।
विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग आवश्यक पर्ने उल्लेख गर्दै ओलीले राहत सामग्री र उपलब्ध स्रोतसाधनलाई आवश्यकताका आधारमा परिचालन गर्न टोलीलाई निर्देशन दिए।
उनले टोलीलाई प्रभावित समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहेर उनीहरूको अवस्था बुझ्न र राहत तथा उद्धारमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग सहकार्य गर्न आग्रह गरे।
एमालेले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट र रसुवाका नागरिकलाई सहयोग पुर्याउन सम्पर्क विशेष संगठन कमिटीको टोली परिचालन गरेको हो।
पार्टीले बाढी प्रभावित क्षेत्रमा विभिन्न तहबाट राहत, उद्धार तथा पुन:स्थापनाका गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

