चीनका राष्ट्रपति सी चिनफिङ शनिबार १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन बेइजिङबाट भारतका लागि प्रस्थान गरेका छन् । चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले यसबारे जानकारी दिएको छ ।
रिपोर्टका अनुसार सी चिनफिङसँगै भारत आउने चिनियाँ प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी पनि सहभागी छन् ।
यसैबीच, भारतका लागि चिनियाँ राजदूत शू फेइहङले शुक्रबार राति सामाजिक सञ्जाल एक्समा चीन र भारतले राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने द्विपक्षीय बैठकको तयारी गरिरहेको बताएका छन् ।
चिनियाँ राजदूतले चीनले भारतसँग संवाद बढाउने, सहकार्यलाई मजबुत बनाउने र मतभेदको उचित रूपमा समाधान गर्ने विषयमा जोड दिने बताएका छन् ।
शू फेइहङले चीन र भारत एकअर्काको सफलतामा सहयोग गर्ने असल छिमेकी र साझेदारका रूपमा अघि बढ्नुपर्ने बताएका छन् ।
सी चिनफिङ यसअघि सन् २०१९ मा भारत गएका थिए । त्यस क्रममा चेन्नईनजिक मामल्लापुरममा दुई देशका नेताबीच अनौपचारिक शिखर वार्ता भएको थियो ।

