काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गत वर्ष भदौ २७ को ऐतिहासिक दिनको रूपमा सम्झिँदै देशलाई गम्भीर राजनीतिक अन्योल र शक्ति रिक्तताबाट निकास दिलाउन आफूले सकेसम्म जिम्मेवारी निभाएको बताएका छन् ।
भदौ २३ को असाधारण घटनापछि सिर्जना भएको संकटपूर्ण परिस्थिति अन्त्य गर्न आफू रगतले लतपतिएको ज्याकेटमै राष्ट्रपति कार्यालय पुगेको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
भदौ २३ पछि देश सामान्य अवस्थामा नरहेको र तत्कालीन राजनीतिक नेतृत्वप्रतिको जनविश्वास पूर्ण रूपमा भत्किएको गुरुङले उल्लेख गरेका छन् ।
‘पुरानो नेतृत्व कुनै हालतमा स्वीकार्य थिएन, नयाँ नेतृत्व कसरी छान्ने कुनै बाटो थिएन । नयाँ, अपरिचित र अपरीक्षित नेतृत्व छान्नु आफैँमा ठूलो चुनौती थियो,’ उनी लेख्छन्, ‘तीन दिनसम्म देश एउटै प्रश्नमा अडिएको थियो- देश कता जान्छ ? अब कसले निकास दिन्छ ? प्रधानमन्त्री को बन्दा सुरक्षित महसुस होला ?’
मुलुक लामो समय पावर भ्याकुममा रहन नहुने र राज्य सञ्चालन हुनैपर्ने चिन्ताका बीच भदौ २७ मा देशलाई निकास दिने ऐतिहासिक जिम्मेवारी आफ्नो भागमा पनि आइपुगेको उनको भनाइ छ ।
गुरुङले थप लेखेका छन्, ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो, एक थोपा पानी र अन्न मुखमा परेको थिएन । ९ घण्टाको त्यो प्रतीक्षामा अन्यौलता थियो, तर अडान पनि थियो कि आज देशलाई खाली हात फर्काउन हुँदैन । किनकि बाहिर सिंगो देश पर्खिरहेको थियो ।’
लामो प्रतीक्षा र अन्योल चिर्दै अन्ततः नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको स्मरण गर्दै उनले त्यो क्षण ठूलो जिम्मेवारीको भारी बिसाएर हलुका भएको अनुभूति गरेको बताएका छन् ।
आफ्नो भागमा आएको जिम्मेवारी सकेसम्म निष्ठापूर्वक निभाएको भन्दै गृहमन्त्री गुरुङले इतिहासको त्यस्तो कठिन मोडमा देशले आफूमाथि गरेको विश्वासप्रति सधैँ कृतज्ञ रहने बताएका छन् ।

