गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–५ इन्द्रेगौंडाकी २९ वर्षीया कल्पना पुनको शव फेला परेको छ । आइतबार साँझ करिब ७ बजेतिर मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सीमामा पर्ने निस्ती खोला तर्ने क्रममा खोलाले बगाएपछि पुन बेपत्ता भएकी थिइन् ।
उनी मुसिकोट–५ स्थित घरबाट इस्मा गाउँपालिका–४ हुलमा रहेको माइतीघर जाँदै थिइन् । खोलाले बगाएलगत्तै स्थानीयवासी र प्रहरीले उनको खोजी सुरु गरेका थिए ।
खोजीका क्रममा सोमबार दिउँसो अमराईको ठुला पहरास्थित निस्ती खोलामा पुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
‘आइतबार साँझ खोलाले बगाएकी महिलाको शव आज भेटिएको छ,’ प्रहरी नायब उपरीक्षक विश्वकर्माले भने, ‘शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास ल्याउने तयारी भइरहेको छ ।’
पुन बेपत्ता भएपछि उनको खोजीका लागि इस्मा प्रहरी चौकी र पौंदीअमराईबाट प्रहरी टोली परिचालन गरिएको थियो । स्थानीयवासीको समेत सहयोगमा खोजी गर्ने क्रममा सोमबार शव फेला परेको प्रहरीले जनाएको छ ।

