काठमाडौँ । जेनजी शहीद तथा घाइतेका परिवारजन रास्वपा सांसद तथा सचेतक क्रान्तिशिखा धितालमाथि खनिएका छन् । उनीहरुले आज सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै धिताललाई सार्वजनिकरुपमा माफी माग्न चेतावनी दिए ।

जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालले जेनजी स्मृति दिवसका अवसरमा गत २३ भदौमा आयोजना गरिएको कार्यक्रममाथी क्रान्तिशिखाले प्रश्न उठाएकी थिइन् । यो कार्यक्रमको ढाँचा र अतिथिहरुले जेनजी शहिदहरुको अपमान भएको उनको टिप्पणी थियो । साथै एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिँदै उनले जनेजी दिवसको कार्यक्रमलाई ‘कन्सर्ट’ को संज्ञा दिएकी थिइन् ।

आज आयोजित विरोध कार्यक्रममा शहीद परिवारका सदस्यहरुले क्रान्तिशिखाको अभिव्यक्तिले आफूहरुको भावनामा चोट पुगेको बताए ।

जेनजी शहीद परिवार कल्याणकारी समाजका अध्यक्ष नारायण श्रेष्ठले क्रान्तिशिखाले आफ्नो भनाइ फिर्ता लिएर माफी नमागेमा संसद भवनबाट घिसार्ने चेतावनी उनले दिए ।

श्रेष्ठले भने, ‘हामी स्मृति दिवस मनाइरहँदा उहाँले कन्सर्ट भन्ने ? हामीले तपाईंहरुलाई मानसिक अस्पताल लैजानैपर्ने हो ? यही पारा हो भने तपाईंलाई संसद भवनबाट घिसारेर मानसिक अस्पताल लैजान नपरोस ।’

जेनजी शहीद र घाइतेलाई होच्याएर बोल्ने अधिकार क्रान्तिशिखालाई नरहेको उनले बताए । क्रान्तिशिखामाथि पार्टीले अनुशासनात्मक कारबाही अघि बढाउन श्रेष्ठले रास्वपासँग माग गरे । माग पूरा नभएमा भोली रास्वपाको संसदीय दल र पार्टी कार्यालय घेराउ गर्ने पनि उनले बताए ।

पत्रकार सम्मेलनमा जेनजी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेश चौलागाईंले अझै उग्र अभिव्यक्ति दिए । शहीद परिवारसँग जोडेर यदि गृहमन्त्री सुधन गुरुङलाई हटाउने खेल भए देशमा अझै ठूलो रक्तपात मच्चाउने उनको भनाइ छ ।

चौलागाईंले भने, ‘गृहमन्त्रीमाथि कुनै खेल खेल्ने चेष्टा गरे हामी जस्तोसुकै रक्तपात मच्चाउन पनि तयार छौँ । गत वर्ष छानी-छानी घरुहरु जलाइएका थिए । त्योभन्दा भिषण हुन्छ । अब त भाग्ने मौका पनि दिने छैनौँ ।’