
काठमाडौँ । हरितालिका तीज पर्वको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरमा करिब ४५ हजार श्रद्धालु भक्तजनले पूजा–आराधना गरेका छन् ।
सुरक्षा व्यवस्थापनका क्रममा अवाञ्छित गतिविधि, चोरी–लुटपाट तथा महिला दुर्व्यवहारलगायतका गतिविधिमा संलग्न हुन सक्ने ७७ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगतका घटनाको अध्ययन तथा विश्लेषण गरी तीज पर्वका अवसरमा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी र सुदृढ बनाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दिनभर कुनै अप्रिय घटना नभई शान्तिपूर्ण वातावरणमा तीज पर्व सम्पन्न भएको छ ।
