काठमाडौं । गत भदौको जेनजी आन्दोलनपछि तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा) लगायतका विभिन्न कम्युनिस्ट घटकबीच पार्टी एकता भयो।
राजनीतिक उथलपुथलका बीच गत कात्तिक १९ गते ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा भए पनि अहिलेसम्म समायोजनको काम टुङ्गिन सकेको छैन। केन्द्रमा नेताहरू मिलेर पार्टी एउटै बनाए पनि साङ्गठनिक संरचना भने अझै अलग–अलग रूपमा चल्दै आइरहेको छ।
हाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजकको भूमिकामा छन्। त्यसबाहेक अरू नेताहरूको पद तोकिएको छैन। जसका कारण वरीयताक्रम र नेता व्यवस्थापनको विवाद उस्तै छ।
दुई दर्जनभन्दा बढी घटकबीच एकता भएर बनेको पार्टीमा करिब २५ सय सदस्यीय जम्बो केन्द्रीय कमिटी छ। तर, यो कमिटीको पूर्ण बैठक अझै बस्न सकेको छैन। पार्टीको दैनिक निर्णय प्रक्रिया सञ्चालन गर्न ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समिति बनाइएको छ। त्यसमा पूर्वपदाधिकारी तथा विभिन्न घटकका शीर्ष नेताहरू समेटिएका छन्। उक्त समितिबाटै अहिलेसम्म पार्टीका औपचारिक निर्णय र साङ्गठनिक गतिविधि सञ्चालन हुँदै आएका छन्।
तर, पार्टी एकताको करिब एक वर्ष पुग्न लाग्दा पनि प्रदेशदेखि जनवर्गीय सङ्गठनसम्मका संरचना भने पूर्ण रूपमा एकीकृत हुन सकेका छैनन्। प्रदेश तहमा इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सहसंयोजकको जिम्मेवारी तोकिए पनि सङ्गठन सञ्चालन आफूखुसी हुँदै आएको छ।
साङ्गठनिक संरचना एकीकृत नहुँदा तत्कालीन माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीनिकट विद्यार्थीहरूले अनेरास्ववियूकै ब्यानरमा आ–आफ्नै गतिविधि चलाउँदै आइरहेका छन्। युवातर्फ वाइसिएल र युवा संघमा पनि अवस्था उस्तै छ। मजदुरलगायत अन्य जनवर्गीय सङ्गठनहरूको स्थिति पनि फरक छैन। बाढीप्रभावित क्षेत्रमा राहत र उद्धारदेखि बजारमा ग्यास अभावको विरोधमा उत्रिँदासमेत सङ्गठनहरू अलग–अलग नै देखिँदै आएका छन्।
सङ्गठन समायोजनको काम नटुङ्गिएकाले आफूहरूले बेग्लाबेग्लै गतिविधि गर्दै आइरहेको अखिल (क्रान्तिकारी) की उपाध्यक्ष ममता अधिकारीले बताइन्। सङ्गठन समायोजनको विषयमा अझै छलफल चलिरहेको उनको भनाइ छ।
पार्टी एकताको प्रभाव अहिलेसम्म न पार्टी सङ्गठनमा देखिएको छ, न त चुनावमा नै। दुई दर्जनभन्दा बढी घटक मिलेर बनेको पार्टी गएको चुनावमा प्रत्यक्षतर्फ १६ सिटमा खुम्चियो भने समानुपातिकतर्फ पनि ८ लाख ९ हजार ६४१ मतभन्दा बढी प्राप्त गर्न सकेन।
चाँडै टुङ्ग्याउने दाबी
नेकपाका नेता जगन्नाथ खतिवडाले विद्यार्थी, युवालगायत केही सङ्गठन समायोजनको काम मात्र बाँकी रहेको बताए। उनले भने, ‘केही जनसङ्गठनहरूको काम बाँकी छ, चाँडै टुङ्ग्याउनुपर्छ भनेर छलफल चलिराखेको छ। यी सङ्गठनहरूमा नेतृत्व कसले लिने भन्ने विषयमा केही कुरा मिल्न बाँकी हो। मुख्य नेतृत्व टुङ्गिएपछि अरू कुरा मिलिहाल्छ।’
कुन सङ्गठनको संयोजक को हुने भन्ने विषयमा पार्टीका तर्फबाट जिम्मेवारी पाएका नेता राजेन्द्र पाण्डेले छलफल गरिरहेको उनले जानकारी दिए।
उनले थपे, ‘सङ्गठनका आ–आफ्ना कुरा भइहाल्छन्, त्यसैले मिलाउन ढिला भएजस्तो देखिएको हो। अब चार–पाँचवटा सङ्गठनको मात्र बाँकी छ।’ उनले सबै समायोजनको काम टुङ्ग्याएर पार्टी महाधिवेशनमा केन्द्रित हुने बताए।
महाधिवेशन कार्यतालिका प्रभावित
नेकपाले यसअघि सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ। पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा गर्ने तय भएको थियो।
पूर्वतालिका अनुसार गत साउन मसान्तसम्म सदस्यता नवीकरण तथा विस्तार अभियान चलाउने र भदौ १५ भित्र वडा तथा भदौ १६ देखि मसान्तसम्म पालिका अधिवेशन गर्ने निर्णय भएको थियो। तर, भदौ सकिन लाग्दासमेत सदस्यताकै काम टुङ्गिएको छैन। कार्यतालिका अनुसार असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ भित्र प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने हुन्छ।
नेता खतिवडाले भने चाँडै कार्यसंयोजन समितिको बैठक बसेर यसबारे नयाँ कार्यतालिका ल्याइने बताए। यद्यपि, महाधिवेशनको मूल मिति भने हेरफेर नहुने उनको दाबी छ। ‘संयोजक र सहसंयोजकले तोकिएकै समयमा महाधिवेशन गर्नुपर्छ भन्नुभएको छ, उहाँहरू त्यसैमा लागिरहनुभएको छ,’ उनले भने।
पार्टी प्रवक्ता प्रकाश ज्वालाले पनि तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्ने गरी चाँडै नयाँ कार्यतालिका ल्याइने दाबी गरे।
भद्दा कमिटीप्रति पार्टीभित्रै असन्तुष्टि
पार्टी एकता भएको वर्षदिन पुग्न लाग्दासमेत चुस्त कमिटी बनाउन नसकेको भन्दै पार्टीभित्रै असन्तुष्टि चुलिएको छ।
दुई साताअघि एक कार्यक्रममा बोल्दै पार्टी नेतृ पम्फा भुसालले एकताका नाममा भद्दा सङ्गठन बनाइएको भन्दै असन्तुष्टि पोखेकी थिइन्। उनले भनेकी थिइन्, ‘पदाधिकारी स्तरको समिति नै ४५ जनाको छ। दर्जनौँ सह-इन्चार्ज र सह-संयोजक बनाइएको छ। २४ सय ९९ जनाको केन्द्रीय समिति छ। यो कम्युनिस्ट पार्टी बन्ने बाटो होइन।’
प्रवक्ता ज्वालाले भने महाधिवेशनपछि पार्टीका कमिटीहरू स्वतः चुस्त बन्ने दाबी गरे। अहिले सबैलाई समेट्नुपर्ने बाध्यताका कारण कमिटी ठूलो देखिएको उनको तर्क छ।
महाधिवेशनको मिति नजिकिएसँगै प्रचण्ड र माधवलाई पार्टी नेतृत्व छाड्न युवा नेताहरूले दबाब बढाउन थालेका छन्। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने माग उठिरहेको छ। पार्टीका वरिष्ठ नेता झलनाथ खनालले त दुवै शीर्ष नेताको राजीनामा माग गर्दै लिखित पत्र नै दर्ता गराइसकेका छन्।

