काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूले बोलाएको सर्वदलीय वैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थतिलाई बचाउ गरेका छन् । प्रधानमन्त्री र आफूले राजनीतिक कामहरु बाँडफाँड गरेको उनले बताए ।

 

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री अहिले निरन्तर वैठकमै रहेको टिप्पणी गरे । बाढी प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिसँग प्रधानमन्त्रीले निरन्तर संवाद गरिररहेको भन्दै उनले यसलाई संवेदनशीलताको उदाहरणका रुपमा व्याख्या गरे ।

आफूहरुले राजनीतिक कामहरु बाँडेकाले प्रधानमन्त्री सर्वदलीय बैठकमा उपस्थित हुनु नपर्ने रविको तर्क छ । उनको भनाइ जस्ताको तस्तैः

प्रधानमन्त्री निरन्तर बैठकमा हुनुहुन्छ । हिजै भर्खर जस्तो लाग्छ मलाई, उहाँ स्थानीय तहका साथीहरू, राजनीतिज्ञ सबैसँग समय निकालेर भेटिरहनुभएको छ । प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिएका ठाउँका जनप्रतिनिधिसँग भेटिरहनुभएको छ भने यो त उहाँको संवेदनशीलताको एउटा ठूलो उदाहरण हो नि ।

राजनीतिक काम हामी बाँडफाँड गरेर गर्छौँ । हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईँले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला । तर हिजो त पार्टीको नेतृत्व, पार्टीको अध्यक्ष, सभापतिहरू प्रधानमन्त्री हुने किसिमको परिस्थिति हुँदाखेरि, दुइटै जिम्मेवारी एउटैको हुँदा नगर्ने हो । अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले, प्रधानमन्त्रीले हेर्ने स्पष्ट खाका, स्पष्ट मार्ग हुँदाहुँदै त्यसको डुप्लिकेसनको आवश्यकता पर्दैन ।

आइदिए हुन्थ्यो, बसिदिए हुन्थ्यो भन्ने कुरा बेग्लै कुरा हो । तर गर्नुपर्ने कामको ठाउँमा जहाँ संवेदनशीलता चाहिन्छ, त्यहाँ त छ । नभेट्नु थियो त कसैलाई भेट्नुहुन्न थियो । स्थानीय तहको वडाध्यक्षसम्म फोनमा कुराकानी हुने, त्यहाँका पालिकाका प्रमुखहरूसँग बसेर घण्टौँ गहन छलफल हुने भनेको यो हाम्रो कामको बाँडफाँट हो ।

यो कार्यकालभरि तपाईँहरूको यो प्रश्न रहिरहन्छ । तर, यो प्रश्नलाई आजै तपाईँहरूले डम्प गर्दिए हुन्छ, किनभने हामीले काम बाँड्या छौँ ।