काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहको रवैया ठिक नभएको भन्दै उनको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।

सर्वदलीय बैठकबाट निस्किँदै गर्दा थापाले संसदप्रतिको गरिमा राख्न प्रधानमन्त्रीलाई सुझाए । विपद्को घडीमा सरकारलाई बिनासर्त सहयोग गर्न सबै दल तयार रहेको उनको प्रष्टोक्ति थियो ।

थापाले भने, ‘हामीले मेहनत गरेर समिति बनाउने, रिपोर्ट दिने तर प्रधानमन्त्रीले त्यसलाई सामान्य छलफलमा पनि रुचि नदेखाउने अवस्था नबनोस् । त्यसैले प्रधानमन्त्रीलाई सुरूदेखि नै यस प्रक्रियाको जानकारी राख्न हामीले सत्तापक्षका नेताहरूलाई सचेत गराएका छौँ ।’

सर्वदलीय संसदीय संयन्त्रको प्रक्रिया तत्काल अघि बढाउन सभामुखसँग आग्रह गर्ने निर्णय भएको उनले जानकारी दिए ।

थापाले भने-

हामीले एउटा कुरा उठाएका छौँ, यो संसद्प्रतिको, खासगरी सम्माननीय प्रधानमन्त्रीजीको जुन खालको रवैया देखिन्छ, संसद्मा सकेसम्म संसद्लाई पूर्ण रूपमा बेवास्ता गर्ने, संसदभित्र आजसम्म मलाई लागेसम्म प्रमुख प्रतिपक्षी दलको नेताले बोलेको बेलामा उहाँको उपस्थिति छ भन्ने लाग्दैन । त्यसैले सकेसम्म संसद्को संस्थालाई नै त्यसको… त्यसलाई धेरै त्यसलाई भाउ नदिने भन्छन् नि, त्यो खालको रवैया रहेको हुनाले गर्दा यत्रो संसदीय समिति हामीले बनाउने भन्यौँ । तर, प्रधानमन्त्रीजीले नै यो संसदीय समितिलाई यसको मान राख्नुभएन, यसको मर्यादा राख्नुभएन, यसरी नै हेपिराख्नुभयो, यसरी नै बेवास्ता गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो त ? त्यसैले रास्वपा सभापतिजीलाई बैठक राखेकोलाई धन्यवाद पनि भनेका छौँ । तर, सँगसँगै तपाईंकै दलको सरकार भएको, तपाईंकै दलको नेता प्रधानमन्त्री हुनुभएको हुनाले गर्दा यो कुराको पनि हेक्का राख्नुहोला ।