काठमाडौं । सर्लाही १ की रास्वपा सांसद नीतिमा कार्की बुधबार बिहान अर्थ समितिको बैठकमा भाग लिएर निस्कँदै थिइन् । सिंहदरबारबाट निस्किने क्रममा उनी चढेको कारमा अर्को गाडी बजारिन पुग्यो ।

बिहान ११ बजेतिरको घटना हो यो । सिंहदरबारभित्र रहेको विज्ञान-प्रविधि मन्त्रालय तथा रास्वपा संसदीय दलको कार्यालय छिर्ने मोडअगाडि यूएनडीपीको इभीले एकैपटक दुईवटा गाडीलाई ठक्कर दिएको थियो ।

नीतिमा चढेको गाडी दोस्रो ठक्करमा परेको हो । उनी गाडीको पछाडि सिटमा दायाँ साइडमा बसेकी थिइन् । आफू बसेको साइडमा झ्याम्मै अर्को गाडी ठोक्किएपछि उनी अत्तालिइन् । यद्यपि उनलाई शारीरिक चोट भने लागेन ।

आफू चढेको गाडी रोकिएको अवस्थामै अर्को गाडीले हानेको नीतिमा बताउँछिन् ।

दुर्घटनाबारे उनले भनिन्, ‘म समितिबाट ठ्याक्कै बाहिर निस्केको मात्रै थिएँ । राइट लाग्ने क्रममा अगाडि प्रहरीको गाडी गइरहेको हुँदा हामी रोकिएका थियौँ । एक्कासि म बसेकै साइडबाट आएर एउटा सेतो गाडी अर्को राति गाडीलाई र त्यसपछि मेरो गाडीलाई ठक्कर दियो । दुईवटा गाडीलाई एकैसाथ मेरोमा ठोक्किए । एकछिन त म ‘शक’ भएँ । तर अहिले ठिक छु । चोटपटक चाहिँ लागेको छैन ।’

दुर्घटनामा युएनडिपीको गाडीको अगाडि भाग कच्याकुचुक नै भएको छ । नीतिमाको बीएमडब्लुमा पनि ठूलै क्षति पुगेको छ । अहिले गाडीलाई शो रुममा लगिएको र युएनका प्रतिनिधि आएर कुराकानी गरेको नीतिमाले बताइन् ।

‘दुर्घटना भएको थाहा पाएपछि यूएनको रिप्रजेन्टेटिभ आउनुभएको थियो । मेरो गाडीमा क्षति धेरै भएको छ तर हिसाब निकालेको छैन । शोरुममा राम्ररी हेरेर हिसाब निकालेर दिनुहुन्छ ।’ उनले भनिन् ।

यूएनडीपीको गाडी महिला चालकले चलाएकी थिइन् । उनी निकै आत्तिएको देखिन्थिन् । सञ्चारकर्मीले तत्कालै उनलाई कसरी दुर्घटना भयो भनेर सोधेका थिए । तर उनले कुनै जवाफ दिन सकिनन् ।

नीतिमाले दुर्घटनाजस्तो कुरा कसैले चाहेर नहुने भएकाले गाडी चालकलाई गलत सोच्न नहुने बताइन् । ‘उहाँले पनि प्लान गरेर भएको होइन । यो एउटा भवितव्य हो । मैले उहाँलाई केही पनि नराम्रो भनिनँ,’ उनले भनिन् ।