काठमाडौँ । द्योग, वाणिज्य तथा आउपूर्ति मन्त्रालयले नेपालमा थप १६० वटा एलपी ग्यास बुलेट उपलब्ध गराउन भारत सरकार सकारात्मक देखिएको जनाएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले मासिक ५० हजार मेट्रिक टनबाट बढाएर ६० हजार मेट्रिक टनभन्दा बढी ग्यास आपूर्ति गर्न कूटनीतिक पहल भइरहेको जानकारी दिए ।

उनका अनुसार थप १६० वटा ग्यास बुलेट उपलब्ध गराउन भारत सरकारबाट सकारात्मक प्रतिक्रिया आएको छ । कृष्णभीरको सडक दुईतर्फी खुलाउन पहल भइरहेको भन्दै उनले ग्यास बुलेटहरू भित्रिन थालेपछि आपूर्ति अवस्था सहज हुने र पुरानै दरमा ग्यास वितरण हुने जानकारी दिए ।

हाल दैनिक ५० हजार सिलिन्डर भित्र्याउने लक्ष्य राखिएकोमा ३५ हजारदेखि ५० हजारको हाराहारीमा सिलिन्डर वितरण भइरहेको उनले बताए ।

काठमाडौँका खाली सिलिन्डर ट्रकमा बोकेर तराईका उद्योगमा पुर्‍याई तीनवटै सिफ्टमा रिफिलिङ गराएर त्रिभुवन राजपथ हुँदै काठमाडौँ भित्र्याउने व्यवस्था गरिएको उनले जानकारी दिए ।

अनावश्यक रूपमा लाइन नबस्न आग्रह

प्रवक्ता बस्नेतले घरमा चल्तीको सिलिन्डर र अतिरिक्त सिलिन्डर भएका उपभोक्तासमेत लाइन बसेर थप स्टक राख्न खोज्दा समस्या जटिल बनेको बताए ।

तत्काल आवश्यक नहुने उपभोक्तालाई अनावश्यक रूपमा लाइन नबस्न आग्रह गर्दै उनले एउटा मात्र सिलिन्डर भएका, डेरामा बस्ने विद्यार्थी, सुत्केरी, गर्भवती तथा निम्न आय भएका वर्गलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।

उनले आपूर्ति सहज बनाउन मन्त्रालयले निरन्तर पहल गरिरहेको पनि जानकारी दिए ।