रुपन्देही । नेपाल आयल निगमको रुपन्देहीस्थित भलवारी डिपोका लागि भारतबाट ल्याइएको डिजल बीच बाटोमै चोरी गरी पेट्रोल पम्पमा बिक्री गर्न खोजेको आरोपमा तीन वटा ट्याङ्करमाथि कारबाही भएको छ ।
निगमले ट्याङ्करलाई तीन महिनाका लागि निलम्बन गर्दै चालक र सहचालकलाई निगमका सबै डिपोमा आजीवन प्रवेश निषेध गरेको छ ।
रूपन्देहीको भैरहवास्थित सराफ आयल स्टोर्समा डिजल झिक्दै गरेको अवस्थामा मंगलबार प्रहरीले तीन वटा ट्याङ्कर नियन्त्रणमा लिएपछि निगमले कारबाही गरेको हो ।
भारतको अमलेखगन्जबाट भलवारी डिपोका लागि २०र२० हजार लिटर डिजल बोकेर आएका ट्याङ्कर निगमको डिपोमा नपुगी आयल स्टोर्समा पुगेका थिए ।
पक्राउ परेका ट्याङ्करमा पौडेल यातायात प्रालिको लु १ ख ६५०४, बि।एन।एस ढुवानी सेवाको लु २ ख १५४४ र त्रिमूर्ति ट्रान्सपोर्ट प्रालिको लु १ ख ६६१९ नम्बरका ट्याङ्कर छन् ।
निगमको ढुवानी विनियमावली, २०७३ को विनियम १७ र १७ (घ) बमोजिम तीन वटै ट्याङ्करलाई तीन महिनाका लागि निलम्बन गरिएको भलवारी डिपोका प्रमुख शैलेन्द्र भुसालले बताए ।
उनका अनुसार ट्याङ्कर धनी, चालक, सहचालक र पेट्रोल पम्प सञ्चालकमाथि निगमको नियमअनुसार कारबाही अघि बढाइएको छ ।
भुसालका अनुसार निगमले पेट्रोलियम पदार्थ चोरीमा संलग्न चालक र सहचालकलाई निगमको कुनै पनि डिपो कार्यालयमा आजीवन प्रवेश निषेध गर्ने निर्णय गरेको छ । उनीहरूले निगमसँग करार सम्झौतामा सञ्चालनमा रहेका कुनै पनि ट्याङ्कर चलाउनसमेत पाउने छैनन् ।
‘अनधिकृत रूपमा पेट्रोलियम पदार्थ निकालिएको भेटिएपछि सम्बन्धित सबैमाथि नियमअनुसार कारबाही गरिएको हो,’ भुसालले भने ।
निगमले सराफ आयल स्टोर्सलाई समेत कारबाही गर्ने तयारी गरेको छ । निगमको बिक्रेता नियमावली, २०७५ को विनियम २९ र ३३ बमोजिम स्टोर्सलाई एक लाख रुपैयाँ जरिवाना तथा ६ महिनासम्म पेट्रोलियम पदार्थको आपूर्ति बन्द गर्ने प्रक्रिया अघि बढाइएको भुसालले बताए ।
रमेश सराफ सञ्चालक रहेको उक्त आयल स्टोर्स मंगलबारदेखि नै सिल गरिएको छ । अनधिकृत रूपमा पेट्रोलियम पदार्थ खरिद गरेको आरोपमा स्टोर्स सञ्चालकमाथि पनि प्रहरीले अनुसन्धान थालेको छ ।
प्रहरीका अनुसार ट्याङ्करमा जडान गरिएको यान्त्रिक सुरक्षा लकिङ प्रणालीलाई गाडीको ज्याक प्रयोग गरी बिगारेर डिजल निकालिएको थियो । भारतबाट डिजल लोड भएपछि लक गरिएको ट्याङ्कर भलवारी डिपोमा पुगेपछि मात्र लक खोल्ने व्यवस्था छ । तर, निर्धारित गन्तव्यमा नपुगी भैरहवामा डिजल झिक्दै गरेको अवस्थामा ट्याङ्कर नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ट्याङ्करका सहचालक मसुद अजहर हुसेन र चालक दुर्गेश चाई पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
अन्य चालक, सहचालक तथा आयल स्टोर्स सञ्चालक भने फरार रहेको प्रहरीको भनाइ छ । घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा पेट्रोलियम पदार्थ चोरीको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
निगमले ढुवानीका क्रममा पेट्रोलियम पदार्थ चोरी तथा अनधिकृत बिक्री रोक्न ट्याङ्करमा विशेष सिल र तालाबन्दीको व्यवस्था गरेको छ । यस्तो सुरक्षा प्रणाली लोडिङ र अनलोडिङ हुने निर्धारित स्थानमा मात्र खोल्न मिल्ने व्यवस्था छ ।
भारतबाट पेट्रोलियम पदार्थ लोड भएपछि लक गरिएका ट्याङ्कर भलवारी डिपोमा पुगेपछि लक खोलिन्छ । त्यसपछि पेट्रोलियम पदार्थको गुणस्तर र परिमाण परीक्षण गरी सम्बन्धित पेट्रोल पम्पमा आपूर्ति गर्ने व्यवस्था निगमले गरेको छ ।
भलवारी डिपोले भारतको अमलेखगन्ज र बेतालपुरबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । अमलेखगन्जबाट १६० र बेतालपुरबाट ७४ वटा ट्याङ्करले निगमसँगको सम्झौताअनुसार नियमित पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका छन् ।
यो घटनाले पेट्रोलियम पदार्थ ढुवानीमा सुरक्षा प्रणाली हुँदाहुँदै पनि चोरीको जोखिम कायम रहेको देखाएको र निगमले ढुवानीमा संलग्न ट्याङ्कर, चालक र पेट्रोल पम्पको निगरानी तथा सुरक्षा व्यवस्था थप कडा बनाउनुपर्ने आवश्यकता देखिएको विषय यसका सरोकारवालाले उठाएका छन् ।

