काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी ओली नेतृत्वबाट बिदा हुनुपर्ने बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए।
पार्टी पुनर्गठनको विकल्प नभएको जिकिर गर्दै अध्यक्षले स्वविवेकले मार्ग प्रशस्त गर्नुपर्ने बताए। अध्यक्षले नेतृत्व छाडेपछि सहमतिमा आफूहरूले नयाँ नेतृत्व चयन गर्ने बताए।
उनले भने, ‘यसरी पार्टी जान सक्दैन। केही न केही नयाँपन दिनुपर्छ। त्यो नयाँपन भनेको नीतिमाथिको पुनरावलोकन, सङ्गठनको ढाँचामाथिको पुनरावलोकन, हाम्रा व्यवहार, कार्यशैली र नेतृत्वको हस्तान्तरण हो। यो प्रक्रियाबाट नै नेकपा एमाले पुनर्जागृत हुन सक्छ।’
उनले एक वर्षको पार्टीको समग्र समीक्षा गर्नुपर्ने बताए।
उनले थपे, ‘जनतासँगको सम्बन्ध कहाँ टुट्यो, त्यहाँ सच्याउने। नवयुवाहरू हाम्रो पार्टीमा किन आएनन्, त्यसको विश्लेषण गरेर सच्याउने। अनि समग्रतामा पार्टीलाई नयाँ ढङ्गले पुनर्जागृत गर्ने। यो आजको नेकपा एमालेको आवश्यकता हो र यो मुलुकको पनि आवश्यकता हो।’
निर्वाचनको समीक्षा र पार्टी पुनर्गठन गर्न प्रस्ताव बनाउन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा कार्यदल बनेपनि अध्यक्ष ओलीको हस्तक्षेपको कारणले प्रतिवेदन दिन नसकेको बताए।
उनले भने, ‘कार्यदलको समझदारी अनुसार महासचिव शङ्कर पोखरेललाई प्रतिवेदन लेख्ने जिम्मा दिइयो। उहाँले प्रतिवेदन बनाउनुभयो। मूलतः अध्यक्षले त्यो प्रतिवेदनप्रति असहमति जनाउनुभयो। त्यो प्रतिवेदन छलफलमा अगाडि बढ्न दिइरहेको अवस्था छैन। त्यसको काउन्टरमा अर्को प्रतिवेदन लेख्न लगाइयो।’
उनले देशभरका सदस्यहरूबाट आएको सुझावको आधारमा पार्टी पुनर्गठन हुनुपर्ने बताए। देशभरका करिब ६० प्रतिशत पार्टी सदस्यहरूले निर्वाचन पराजयको जिम्मेवारी अध्यक्षले लिनुपर्ने बताए।
भट्टराईले भने, ‘आजको दिनमा पार्टीको शीर्ष नेतृत्वले अभिभावकीय भूमिका खेलेर नेतृत्व नयाँ मानिसलाई हस्तान्तरण गर्नुपर्छ भन्ने स्वयं बादलजीको संयोजकत्वमा बनेको कमिटीको रिपोर्ट पनि छ। तर यी सबै कुरालाई पार्टीमा सहज ढङ्गले छलफल गर्न गर्ने अवस्था बनिरहेको छैन।’
उनले पार्टी पुनर्गठनको विषयमा केन्द्रीय समितिको बैठकमा जमेर छलफल हुने बताए। ४ गते सचिवालय, ५ देखि ७ गते केन्द्रीय कमिटीको बस्ने बताए।
उनले थपे, ‘केन्द्रीय कमिटीबाट नेतृत्वको हस्तान्तरणको सहज विधि र प्रक्रिया बनाएर निकास दिन्छौँ। त्यसका लागि विधानमा संशोधन, राष्ट्रिय भेलाको आयोजना गर्नुपर्छ कि, विशेष महाधिवेशनको आयोजना गर्नुपर्छ यी सबै प्रक्रियामा अब पार्टी जान्छ, जानुपर्छ।’
