काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएका तर पहिचान हुन नसकेका शव माटोमुनि गाडेर व्यवस्थापन गरिएको छ ।

शव पहिचान नभएका एक हजार १४८ जनाको शव जमिनमुनि गाडिएको छ ।

भदौ १० मा तिब्बतर्फको ल्हेन्दे खोलाको बहाव अचानक बढेसँगै रसुवाको भोटेकोशी र त्रिशुलीमा अप्रत्याशित बाढी आएको थियो । बाढीमा परेर अहिलेसम्म एक हजार ४१० जनाको मृत्यु पुष्टि भएको छ । सुरक्षाकर्मीहरूले भोटेकोशी, त्रिशूली र नारायणीको किनारबाट मृतकको शव सङ्कलन गरेका हुन् । प्रहरी हेड्क्वार्टरका अनुसार मृत्यु भएकामध्ये १०३ जनाको मात्र पहिचान भएको छ ।

बाढीका कारण ६ हजार १४५ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन भएका र पहिचान नखुलेका मृतकका परिवारले कुशको शव बनाएर अन्तिम संस्कार समेत गरिसकेका छन् । पहिचान नखुलेका शवको पहिचान गर्ने मुख्य आधार डीएनए परीक्षण बनेको छ । अहिले तीव्र गतिमा डीएनए परीक्षणको काम भइरहेको छ । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र सामाखुसीस्थित प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणको काम भइरहेको छ ।

मृतकका आफन्त २ हजार व्यक्तिको रगतको नमुना सङ्कलन गरिएको छ । पहिचान भएका शवको हड्डी र दाँतको १३ सय ३७ वटा नमुना सङ्कलन गरिएको छ । प्रहरीको प्रयोगशालामा पठाइएको रगतको १ हजार नमुनामध्ये ४४३ नमुना परीक्षण सकिएको छ । मृतकको दाँत र हड्डीको ५ सय नुमना विधिविज्ञान प्रयोगशालामा परीक्षण भइरहेको छ । त्यसमध्ये १७६ नमुनाको परीक्षण नतिजा आइसकेको छ ।

 

राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको १५ सय ६८ वटा नमुनामध्ये ८ सयभन्दा बढीको प्रोफाइलको रिपोर्ट आएको प्रयोगशालाका वरिष्ठ वैज्ञानिक अधिकृत मुकुल प्रधानले रातोपाटीलाई बताए । राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको बुटवलस्थित ल्याबमा पनि डीएनए प्रोफाइलिङ भइरहेको छ । बुटवलको ल्याबलाई दिइएको ९८ वटा रगतको नमुनामध्ये ३० वटा नमुनाको प्रोफाइल जेनेरेट गरिएको प्रधानले जानकारी दिए । राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा मृतकको हड्डी र दाँतको ८३६ वटा नमुना र आफन्तको रगतको ७३१ नमुना परीक्षणका लागि पठाइएको छ ।

विधिविज्ञान प्रयोगशालाको टिमसँग मिलेर चीन र भारतका डीएनए विज्ञहरूले पनि परीक्षणको काम गरिरहेका छन् । प्रहरीको विधिविज्ञान प्रयोगशालमा प्रहरीको टिमसँग भारतीय र कोरियन डीएनए विशेषज्ञहरूले जाँच गरिरहेका छन् । दुवै ल्याबमा गरिएको परीक्षणबाट अहिलेसम्म १४ सयभन्दा बढीको डीएनएको रिपोर्ट आइसकेको छ ।

प्रहरी प्रधान कार्यालयले आसोजभित्रै आफन्तहरूलाई जमिनमुनि गाडिएका शव बुझाउने तयारी गरिरहेको छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतका अनुसार असोजको अन्तिम हप्ताबाट शव हस्तान्तरण सुरु गरिने छ । पहिलो चरणमा धादिङ र चितवनमा फेला परेका शव दिनेगरी काम भइरहेको छ ।

प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले सकेसम्म चाँडो शव दिनेगरी काम भइरहेको जानकारी दिए । उनले भने, ‘डीएनए प्रोफाइलिङको काम धमाधम भइरहेको छ । प्रोफाइलिङ सकिएपछि म्याचिङ गरेर शव बुझाउँछौँ ।’

प्रोफाइलिङ सकिएपछि म्याचिङको काम सफ्टवेयरबाट गरिने छ ।

 

औँठाछाप भिडाउन पत्राचार
प्रहरीले शवको डीएनएसँगै औँठाछाप भिडाएर पनि मृतकको पहिचान गर्ने भएको छ । शवबाट सङ्कलन गरिएको औँठाछापको विवरण भिडाइदिन प्रहरीको विधिविज्ञान प्रयोगशालाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र अध्यागमन विभागलाई पत्राचार गरेको छ । शवबाट सङ्कलन गरिएको औँठाछाप र विदेश जाँदा वा राष्ट्रिय परिचयपत्र बनाउँदा सङ्कलन गरिएको वायोमेट्रिक विवरणसँग म्याच भएमा शवको सनाखत हुनेछ । मृतकहरूको औँठाछापसँग राष्ट्रिय परिचय पत्र र अध्यागमनको डाटा बेसमा भिडाएर शवको पहिचान गरिने छ ।

असोज दोस्रो हप्तासम्म फ्रिङ्गर प्रिन्ट म्याच भएर आउने आकलन गरिएको प्रहरीका अधिकृत बताउँछन् । प्रहरीले ३ सय शवको औँठाछाप सङ्कलन गरेको थियो । ती मृतकले पहिले नै राष्ट्रिय परिचय पत्र बनाइसकेको भएमा औँठाछाप मिल्ने छ । त्यस्तै विदेश आउजाउ गरेकाहरूको पनि अध्यागमनको रेकर्डसँग औँठाछाप मिल्ने प्रहरी अधिकृत बताउँछन् । प्रहरीका एक जना उच्च अधिकृतले भने, ‘औँठाछापको रिपोर्ट आएपछि दुईवटै ल्यावसँग छलफल गरेर असोज अन्तिममा केही शव हस्तान्तरण गर्न सकिन्छ होला ।’