रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत भदौ महिनामा ८३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीले अदालती फैसला कार्यान्वयनलाई तीव्रता दिई फरार अवस्थामा रहेका प्रतिवादीलाई पक्राउ गरी कैद सजायँसहित उनीहरूबाट करिब रु एक करोड ३५ लाख जरिवाना असुलउपर गरेको, आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई पक्रेर कानुन कार्यान्वयनमा सक्रिय रहेको र ठगी तथा अपराधजन्य घटना न्यूनीकरण तथा रोकथामका पक्षमा शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ ।
यसैगरी, रुपन्देही प्रहरीले ठगी तथा सङ्गठित अपराधको कसुरमा फरार रहेकी सोही जिल्लाअन्तर्गत मर्चवारीमाई–३, रायपुरकी २४ वर्षीया उर्मिला बरईलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरेको छ ।
पक्राउ परेकी बराईले समूह बनाई सर्वसाधारणबाट रु एक करोड ५० लाख २२ हजार ५२० ठगी गरेको आरोपमा निजलाई पक्राउ गरिएको र सो घटनामा संलग्न अन्यको खोजीसहित आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।

