काठमाडौं । काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आवद्ध भएका छन् ।

काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर वैशाख १ गतेबाट परीक्षणका रुपमा रात्रिकालीन बस सेवा सञ्चालन थालिएको थियो ।

यसलाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी स्थानीय तहहरु साझा कार्यक्रममा आवद्ध भएका हुन् ।

रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्य हो । संविधान दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरुले साझा यातायातसँग समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

हस्ताक्षर गर्ने महानगरपालिका र नगरपालिकाहरुमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरी नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर थिमी नगरपालिका छन् ।

यसमा साझा यातायातका तर्फबाट अध्यक्ष शुशिलराज प्याकुरेलले हस्ताक्षर गरे । साझा यातायातको कार्यालयमा आयोजना गरिएको समारोहमा हस्ताक्षर गरिएको हो । त्यसलगत्तै ६ वटा रुटका लागि ३० वटा बस सञ्चालन थालिएको छ ।

समारोहमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले, संविधानले नागरिकका लागि प्रत्याभूत गरेका आधारभूत आवश्यकताको पहुँच बढाउँदै जाने क्रममा रात्रिकालीन बस सेवालाई थप विकास र विस्तार गर्दै लगिएको बताइन् ।

‘विगतमा अभ्यास गरियो, बन्द भयो, यसपटक के होला ?’ भन्ने सेवाग्राहीको चिन्ताबारे उनले भनिन्, ‘परीक्षण कालमा अभ्यास गरिएको २ वटा रुटमा ४ वटा थपेका छौँ । ७ वडा गाडीलाई ३० वटा पुर्याएका छौँ । ४ वटा नगरपालिकाको सहकार्यमा ९ वटा पुगेका छौँ । यसलाई अझ विस्तार गर्ने र आवश्यकताका आधारमा आर्थिक दायित्व पनि वहन गर्ने गरी सहकार्य थालेका छौँ । अब यो सेवा रोकिँदैन । निरन्तर चल्छ । दिगो चल्छ ।’

संविधानले स्थानीय तहलाई दिएको यातायात व्यवस्थापन सम्बन्धी अधिकार, ती अधिकारहरुको एकल र साझा प्रयोगको विषय उल्लेख गर्दै उनले भनिन्, ‘संविधान र कानुनमा लेखिएका कुरा कागजमा सीमित हुने होइन । नागरिक तहमा अनुभूत हुनुपर्छ । हाम्रा लागि प्रशासनिक सीमाले छुट्टिएर होइन, नागरिकको आवश्यकतालाई महत्वपूर्ण मानेर सहकार्यमा आधारित सेवा विकास र विस्तार गर्नुछ । यसलाई व्यवहारिक रुपमा सफल बनाउन हामी सबै एकीकृत लक्ष्यसहित अगाडि बढेका हौँ ।’

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भने, ‘उपत्यकाबासीको यातायात सहजताका लागि संघ सरकारबाट मेट्रो सञ्चालनका विषयमा योजना ल्याउनु पर्नेथियो । त्यो विषय अहिले आएको देखिएन । मेट्रो नभएपछि बीआरटी (बस र्यापिड ट्रान्जिट) हुनुपर्थ्यो । त्यसको पनि केही संकेत छैन । संघबाट केही आएन भनेर हामीले चुप लाग्ने अवस्था छैन । यसकारण हामीले स्थानीय स्तरमा सञ्चालनमा ल्याउन सकिने प्रणालीमा सहकार्य थालेका छौँ । यसलाई विकास र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।’

साझाका अध्यक्ष प्याकुरेलले साझाले स्थानीय तहलाई अभिभावक पाउनु ठुलो उपलब्धि भएको बताए ।

विस्तारित सेवाअन्तर्गत जगाती–सूर्यविनायक हुँदै ठमेलसम्म ६ वटा, साविक लगनखेल–बुढानीलकण्ठलाई विस्तार गरी गोदावरीसम्म ६ वटा, रिङरोडमा घडीको दिशामा र विपरीत दिशामा ८ वटा, कीर्तिपुर–जमलमा ४ वटा, टाखेल–ठमेलमा २ वटा तथा साविक नागढुङ्गा–एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन गरिनेछ ।

यसअघि लगनखेलदेखि बुढानीलकण्ठ तथा नागढुङ्गादेखि एयरपोर्टसम्म राति ८ बजेदेखि ११ बजेसम्म सातवटा बसमार्फत नमूना सेवा सञ्चालन गरिएको थियो । सेवाको प्रभाव तथा मूल्याङ्कन, लाभलागत विश्लेषणका आधारमा नाफाघाटाभन्दा सेवा ठुलो कुरा भएको निष्कर्ष निकालिएको थियो ।

रात्रीकालीन बस सञ्चालनमा लाग्ने खर्च यात्रुबाट प्राप्त हुने टिकट आम्दानीले धान्न नसकेमा त्यसबाट अपुग हुने रकमको ५० प्रतिशत सम्बन्धित सातवटा नगरपालिकाले समान रूपमा व्यहोर्ने र बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसङ्ख्याका आधारमा काठमाडौँ महानगरपालिकाले १८.५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८.५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले व्यहोर्ने सहमति गरिएको छ ।

सेवा सञ्चालन गर्न खर्च नपुग भए साझा यातायातले त्रैमासिक रूपमा माग गर्ने सहमतिमा उल्लेख छ । रुटमा यात्रु चढ्ने तथा ओर्लने स्थान सम्बन्धित नगरपालिकाले निर्धारण गर्नेछन् । ती स्थानमा आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेज बोर्ड जडान गरी डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ । सम्बन्धित नगरपालिकाले आवश्यक समन्वय तथा सहजीकरण गर्नेछन् ।

निर्धारित रुटको अन्तिम बिन्दुमा बस चार्जिङ स्टेसन निर्माणका लागि सम्बन्धित नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने र साझा यातायातले चार्जिङ स्टेसन जडान गर्ने दायित्व लिनेछ । चार्जिङ स्टेसनको सुरक्षाको जिम्मेवारी सम्बन्धित नगरपालिकाले लिनेछन् । रात्रीकालीन सार्वजनिक यातायात सेवा प्रभावकारी बनाउन सम्बन्धित महानगरपालिका तथा नगरपालिकाले नियमित अनुगमन गरी साझा यातायातलाई आवश्यक सुझाव दिनेछन् ।

सम्झौताको कार्यान्वयनबारे कम्तीमा त्रैमासिक रूपमा सम्बन्धित पक्षको उपस्थितिमा प्रगति समीक्षा बैठक बस्ने र साझा यातायातले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने प्रावधान राखिएको छ ।

सहमतिले, यात्रुको चाप र आवश्यकता बढ्दै गएमा भविष्यमा अन्य क्षेत्रमा समेत यस प्रकारको बस सेवा विस्तार गर्ने बाटो खुला गरेको छ । उपत्यकामा रातको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार भएपछि अस्पताल, विमानस्थल, बजार तथा अन्य अत्यावश्यक सेवामा आवतजावत गर्ने नागरिकका लागि सार्वजनिक यातायातको विकल्प थपिने अपेक्षा गरिएको छ ।

चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपियाँ भाडा लाग्नेछ । टिकटबाट हुने आर्थिक चुहावट रोक्न साझाले असोज १ गतेदेखि डिजिटल टिकेटिङ् प्रणाली विकास गरेको छ । यसमा क्यूआरबाट वा क्यास नै दिएर पनि टिकट लिन सकिनेछ । आर्थिक चुवावट रोकिएपछि साझाको घाटा रकम कम हुने अपेक्षा छ ।

साझा यातायातमा नेपाल सरकारको ३ अर्ब रुपियाँ, काठमाडौं महानगरपालिकाको १५ करोड रुपियाँ शेयर लगानी छ । अहिले साझा यातायातमा १११ वटा बस छन् ।