सिरहा । भारतबाट भइरहेको मदिरा तस्करी रोक्ने क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ परेका छन्। मुख्य अभियुक्त पक्राउ परेसँगै लामो समयदेखि निराशामा रहेको पीडित परिवारमा न्यायको आशा पुनः जागेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार २०८१ मंसिर १६ गते बिहान बरियारपट्टी गाउँपालिका-१ कचनारीस्थित नेपाल-भारत सीमा क्षेत्रमा तस्करीको मदिरा नियन्त्रण गर्न खटिएका सई यादवलाई टाटा सफारी गाडीले ठक्कर दिएर हत्या गरिएको थियो।

बिओपी बडहरी बरियारपट्टीबाट खटिएको टोलीले ड्युटीका क्रममा गाडी रोक्न खोज्दा चालकले ठक्कर दिएर फरार भएका थिए। गम्भीर घाइते यादवको उपचारका क्रममा मृत्यु भएको थियो।

घटनाको २२ महिनापछि प्रहरीले भारत बिहारको मधुवनी जिल्ला निवासी ३७ वर्षीय मोहम्मद कुरवान मंसुरीलाई शुक्रबार सीमा क्षेत्रबाट पक्राउ गरेको हो। कुरवान घटनामा प्रयोग भएको टाटा सफारीका धनी तथा चालक हुन्।

इलाका प्रहरी कार्यालय महेशपुरपतारका प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिन खोज्दा अभियुक्तहरूले प्रहरीलाई लक्षित गरी एक राउन्ड गोली चलाएका थिए।

जवाफी कारबाहीमा प्रहरीले तीन राउन्ड गोली चलाउँदा बायाँ हात र दाहिने खुट्टामा गोली लागेर कुरवान घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ र अवस्था मध्यम छ।

मुख्य अभियुक्त पक्राउ परेपछि मृतक सई यादवका दाइ पाण्डव यादवले भने, “हाम्रो आशा-भरोसा सबै टुटिसकेको थियो। तर २२ महिनापछि मुख्य अभियुक्त पक्राउ परेकाले फेरि न्यायको आशा जागेको छ।” यादवका सालो रञ्जित यादवले पनि प्रहरीको हत्या हुँदा नागरिक र प्रहरीबीचको विश्वासमा असर पर्ने भन्दै घटनामा संलग्न सबैलाई कडा कारबाही गर्न माग गरे।

शनिबार जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठक र सशस्त्र प्रहरीका एसपी सुमनजंग थापासहितको टोली पीडित परिवारलाई भेट्न यादवको घर पुगेको थियो। भेटका क्रममा एसपी पाठकले घटनामा संलग्न अर्का एक फरार अभियुक्तको पनि खोजी भइरहेको र चाँडै कानुनी दायरामा ल्याएर परिवारलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरे।