राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सिंहदरबारभित्र सञ्चालनमा रहेका क्यान्टिन तथा खाजा पसलको संख्या र मूल्यप्रति प्रश्न उठाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सिंहदरबारका बरन्डासमेत क्यान्टिन र महँगो खाजा बिक्री गर्ने ठाउँका रूपमा प्रयोग भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद सुनारले सिंहदरबारको बरन्डामा राखिएको ‘फाइभ स्टार होटेल’ कसले सञ्चालन गर्न दिएको हो भन्ने प्रश्न गरे । उनका अनुसार त्यहाँ कालो चियाको एक सय रुपैयाँ, दूध चियाको दुई सय, ममको तीन सय, चाउमिनको चार सय र पाउरोटीको पाँच सय रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ ।

‘कालो चियाको एक सय, दूध हालेको चियाको दुई सय, ममको तीन सय, चाउमिनको चार सय, पाउरोटीको पाँच सय रुपैयाँ तिरेर खान सक्ने हैसियतमा अहिलेका सांसदहरू छन् कि छैनन् ?’ उनले प्रश्न गरे ।

सिंहदरबारभित्रै कार्यरत कर्मचारी र मर्यादापालकले समेत त्यस्ता ठाउँमा गएर पानी खान सक्ने अवस्था नरहेको उनको दाबी छ ।

सांसद सुनारले संसदको बरन्डाबाट तत्काल ‘फाइभ स्टार होटेल’ हटाउनुपर्ने मागसमेत गरे । ‘सिंहदरबारभित्र यति धेरै क्यान्टिन चलाउन पाइँदैन । सुन्धारामा भन्दा धेरै होटेलहरू भए,’ उनले भने ।