काठमाडौं । त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा चालक आफैँले आगो लगाउनुको कारण ट्राफिक प्रहरीको ज्यादती भएको उक्त यातायात कम्पनीले दाबी गरेको छ ।

यात्रुलाई चढाउने र ओराल्ने प्रयोजनका लागि त्रिपुरेश्वरस्थित राहदानी विभागको अगाडि रहेको बस बिसौनीमा गाडी रोकिरहेको अवस्थामा आगो लागेको थियो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष तथा ऋद्धिसिद्धी यातायातका मुख्य सल्लाहकार नीर कार्कीले नेपाल प्रेसलाई बताएअनुसार ट्राफिक प्रहरीसँग भनाभन भएपछि चालक दावा लामाले यात्रुहरूलाई गाडीबाट ओरालेर आगो लगाएका थिए ।

यात्रु उतार्ने र चढाउने क्रममा हर्न बजाएको भन्दै ड्युटीमा खटिएका ट्राफिकले चालक लामालाई गाली गरेका थिए । काठमाडौं उपत्यकाका सार्वजनिक सडकमा हर्न निषेधित छ । निषेधित कार्य गरेको कसुरमा चिट काट्ने भनेपछि चालक लामाले यात्रुलाई उतारेको सल्लाहकार कार्कीले बताए ।

तर, ट्राफिक प्रहरीले भने यातायात कम्पनीको आरोपलाई अस्वीकार गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले चालकले ढोका थुनेर गाडीभित्र आगो लगाएको र आगो लागेको देख्नासाथ उनलाई बचाउनका लागि शुरुमा ट्राफिक प्रहरी नै पुगेको बताए । ‘घटनाको बारेमा हामी पनि बुझ्दैछौँ, तर ट्राफिककै कारण चालकले गाडीमा आगो लगाउनु परेकोबारे केही जानकारी छैन’, उनले भने ।

कुनै पनि सवारी चालकले निषेधित कार्य गरेमा सचेत गराउनु र आवश्यकता अनुसार कारबाही गर्ने अधिकार ट्राफिक प्रहरीसँग रहेको भन्दै उक्त घटनामा के भएको हो भन्नेबारेमा आफूहरुले बुझिरहेको एसपी सुवेदीले बताए ।