काठमाडौँ । भोजपुरस्थित विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी गरिदिने क्रममा एक लाख ३५ हजार रुपैयाँ घुस लिएको आरोपमा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका तत्कालीन तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब-इन्जिनियर रविन श्रेष्ठविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो।

आयोगले तीनै जनाविरुद्ध एक लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना माग दाबी गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

क्यूआरमा ५० हजार, नगदमा ८५ हजार
आयोगका अनुसार आरोपितहरूले विद्यालयको नयाँ भवन निर्माणसम्बन्धी अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाउन विभिन्न प्राविधिक समस्या देखाउँदै सेवाग्राहीलाई दुःख दिएको अनुसन्धानबाट खुलेको छ।

उनीहरूले अन्तिम बिल भुक्तानीका लागि सेवाग्राहीसँग एक लाख ३५ हजार रुपैयाँ घुस मागेको अख्तियारको आरोप छ। पूर्वयोजनाअनुसार उक्त रकम आपसमा बाँडेर लिने सहमति भएको आयोगले जनाएको छ।

माग गरिएको रकममध्ये ५० हजार रुपैयाँ सब–इन्जिनियर श्रेष्ठको बैंक खाताको क्यूआरमार्फत जम्मा गर्न लगाइएको थियो। बाँकी ८५ हजार रुपैयाँ इन्जिनियर राईले नगद बुझेको आयोगको दाबी छ।

तीन स्थानबाट नियन्त्रणमा लिइएको थियो
घुस मागेको उजुरीका आधारमा खटिएको आयोगको टोलीले इन्जिनियर राईलाई ८५ हजार रुपैयाँ नगद लिइसकेको अवस्थामा ललितपुरबाट नियन्त्रणमा लिएको थियो।

आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले लेखा अधिकृत कार्की र सब-इन्जिनियर श्रेष्ठलाई क्रमशः धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको थियो।

प्रारम्भिक कारबाहीका क्रममा ८५ हजार रुपैयाँ नगदसहित राई पक्राउ परे पनि अनुसन्धानबाट क्यूआरमार्फत लिइएको थप ५० हजार रुपैयाँसमेत गरी कुल घुस रकम एक लाख ३५ हजार रुपैयाँ रहेको खुलेको आयोगले जनाएको छ।

कैद र बिगोबमोजिम जरिवाना माग

आरोपितहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर भएको अख्तियारको निष्कर्ष छ।

आयोगले तीनै जनालाई सोही उपदफाको देहाय ९ग० बमोजिम कैद तथा बिगो एक लाख ३५ हजार रुपैयाँ कायम गरी बिगोबमोजिम जरिवाना गर्न माग दाबी लिएको छ। आरोपको अन्तिम निरूपण विशेष अदालतबाट हुनेछ।